दुवाचौर सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मेलम्ची नगरपालिका – ७ दुवाचौर स्थित शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष पासाङ तामाङले सहकारी मार्फत आयआर्जन वृद्धि गर्न आग्रह गर्दै ऋण लगेपछि त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी आफ्नो सदस्य प्रति समर्पित भएर लाग्नु पर्ने बताउनुभयो ।
सहकारीका उपाध्यक्ष धर्मराज गिरीले स्वागत मन्तव्य राख्दै वडामा रहेका एउटै उदेश्य रहेको २ सहकारी मर्ज गरिने बताउनुभयो । उहाँले सहकारी पैसा ऋण लिन मात्र नबुझी यसको उदेश्य र लक्ष्य सदस्यहरुले बुझ्नु पर्ने उहाँले बताउनुभयो । सहकारीका अध्यक्ष अर्जुन गिरिले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीको ९१३ जना सदस्य रहेको जानकारी दिनुभयो । सहकारीमा ६४८ पुरुष र २५६ महिला सदस्य रहेका उहाँले बताउनुभयो ।यस सहकारीको कार्यक्षेत्र मेलम्ची ७ र ८ साबिक दुवाचौर गाबिस रहेको उहाँले बताउनुभयो । गत बर्ष सेयर सदस्य वृद्धि गर्दै चेतनामुलक कार्यक्रम सन्चालन गरिएको , रासायनिक मल कार्ड बनाइ मल बितरण, बीउ बिजन अनुदानमा ल्याइ बितरण , जनप्रतिनिधि तथा सदस्यसंग छलफल लगायत कार्यक्रम गरिएको अध्यक्ष गिरिले बताउनुभयो ।
आगामी दिनमा एक घर एक सदस्य अभियानमा जोड दिने , लक्ष्य अनुसार काम गर्न तदारुकताका साथ लाग्ने , दूध संकलन तथा चिस्यानको लागि आवश्यक कार्यक्रम र कार्यबिधी निर्माण गर्ने , रेमिटेन्स संचालन गर्ने लगायत किसानको लागि अन्य विभिन्न कार्यक्रम सन्चालन गरिने सहकारीका प्रबन्धक उमश गिरीले जानकारी दिनुभयो ।कार्यक्रममा श्री बालसुधार माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठ ,वडा सदस्य सुमिता सुनुवार , जलवायु देबि माबिका शिक्षक शुवास गीरी , पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।उहाँहरुले सहकारीको साधारणसभा न्यून संख्यामा सदस्य उपस्थित हुनु दुःखद रहेको बताउदै सदस्य हरुलाई जागरुक भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सदस्यहरु, पुर्व गाबिस उपाध्यक्ष ग्याल्जेन दोङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सचिव हर्कराज गिरिले संचालन गर्नुभएको थियो ।
