बलेफी गाउँपालिका वडा नम्बर ७ को प्रशासनिक कार्यालय भवनको उद्घाटन गरिएको छ ।
आईतबार एक समारोहका वीच गाउँपालिकाको अध्यक्ष गंगाबहादुर तामाङले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तामाङले सबै वडामा सुबिधा संपन्न भवन निर्माण गरि नागरिकलाई चुस्त दुरुस्त सेवा दिन पालिका लागिपरेको बताउनुभयो ।
२०५४ सालमा मांखा गाविसको कार्यालयको रुपमा निर्माण भएको भवन वषौं देखि जिर्ण थियो । १६ लाख ५४ हजार लगानीमा निर्माण सपन्न भएको भवनमा सोमवारदेखि वडाको प्रशासनीक कार्य संचालन हुने वडा अध्यक्ष गृविन्द्र चौलागाईले बताउनुभयो । यस अगाडि बजारमा मासिक १५ हजार भाडामा बस्दै आएकोमा हाल आफ्नै भवनमा कार्यालय संचालनमा ल्याउन पाउँदा अध्यक्ष चौलागाईले खुसि ब्यक्त गर्नुभयो ।
गाउँपालिकाको ८ लाख र तामाकोशी काठमाडौं प्रशारण लाईन आयोजनाको झण्डै ५ लाख बराबरको सहयोग प्राप्त भएपनि भवन निर्माण संपन्न गर्दा भने ४ लाख ५० हजार रकम अझै अपुग भएको निर्माण समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार नेपालले बताउनुभयो ।
समारोहमा गाउँपालिकाका पूर्व अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष सरु लामा तमाङ, प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहाल, वडा अध्यक्षहरु सूर्ये तामाङ, यादव ठकुरी, तेजबहादुर पराजुली, नेपाली कांग्रेसका निरकुमार तामाङ, तामाकोशी काठमाडौं प्रशारण लाईन आयोजनाका प्रदिप भट्टराई, सुनकोशी क्याम्पसका प्रमुख कृष्णप्रसाद आचार्य तथा स्थानीय ऋषिराम पराजुलीले मन्तब्य राख्नुभएको थियो ।
