सम्पर्क

मेलमिलाप मार्फत समृद्धि हासिल गर्न सहज हुन्छः सापकोटा

चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले मेलमिलाप कार्य मार्फत समृद्धि हासिल गर्न सहज हुने बुझाई रहेको र समाजमा हुने आपसी कलह, झगडा र मनमुटाबले समाधानको खोजी गर्न मेलमिलापकर्ताको भुमिका हुने बताउनु भयो । उहाँले मेलमिलापकर्ताले खेलेको भुमिकामा कुनै पक्षले पनि नहार्ने र कुनै पक्षले नजित्ने तर नियम, कानुन र शान्तिले जित्ने भएको हुँदा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण हुने गरेको बताउनुभयो । उँहाले उक्त कुरा चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभुत तालिमको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले तालिम सम्पन्न पश्चात् न्यायिक कार्य सम्पादन कार्यमा सघाउ पुग्ने र प्रभावकारी वृद्धि हुने विश्वास लिएको बताउनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्नु हुँदै विशेष अतिथी माननीय जिल्ला न्यायाधीश बिदुर कोइरालाले अदालती कार्यलाई सहयोग पुग्ने खालका कामहरु मेलमिलापकर्ताहरुबाट हुने भएकाले यस्ता तालिमहरुको आवश्यकता भएको बताउनु भयो । उहाँले नगरपालिकाले समावेशी सहभागितालाई समेत ध्यान दिएर यो मेलमिलापकर्ता तालिम सञ्चालन गरेर अदालतको कार्य सम्पादनलाई समेत सघाउ पु¥याउन मद्दत गरेको भन्दै धन्यवाद दिनु भयो ।

यसै गरी मेलमिलाप परिषद्को सदस्य चुप बहादुर थापाले मेलमिलापको माध्यमबाट फाटेका मनहरुलाई सिलाएर मनको घाउ निको बनाउने डाक्टर बन्ने जिम्मेवारी लिन सहभागीहरुलाई अनुरोध गर्नु भयो । यसै गरी निमित्त प्रमुख जिल्लाअधिकारी निराजन श्रेष्ठले मेलमिलाप नै फैसलाको अन्तिम बिन्दु भएकाले मेलमिलापकर्ताहरुले कानुनी पक्षका कुरा बुझ्न जरुरी रहेको बताउनु भयो । यसै गरी जिल्ला बार यशोसियसनका अध्यक्ष भुपेन्द्र थिङ्गले मेलमिलापकर्ता भनेको समस्या समाधानको पुल भएकाले पुलको भुमिकामा अन्यायमा परेकालाई मेलमिलापकै माध्यमबाट न्याय दिनु हो भन्नु भयो ।

नगर उप प्रमुख एवं न्यायिक समितिको उप प्रमुख सीता थापाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक निरन्जन खनाल, वडा अध्यक्ष डम्बर तामाङ्ग, लगायतको उपस्थित रहेको थियो । तालिममा नगर भित्रका १४ वटा वडाबाट प्रत्येक वडाबाट दुई जनाको दरले २८ जनाको सहभागी रहेको छ । प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्रका प्रतिनिधि नेत्र धिताल र टिका सुवेदीले तालिमको सहजीकरण गर्ने कार्यक्रम रहेको न्यायिक शाखाका प्रमुख दुर्गा ढुङ्गेलले जानकारी दिनु भयो ।