इन्द्रावती गाउपालिका – ८ ज्यामिरेमानेमा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा शिविर संचालन भएको शिविरमा ४९१ जनाले चेकजाँच गराएका छन् । जसमध्ये ९५ जनाको आङ खसेको पाइएको छ । ३० जनाको पाठेघरको सुरक्षाका लागि रिङ राखिएको छ । ३९० जनाले पाठेघरको चेकजाँज गरेकोमा १९ जनाको अप्रेसन गर्नुपर्ने भएको छ । यस्तै २५० जनाको पाठेघरको मुखमा खराबी देखिएको छ । अप्रेसन गर्नुपर्नेहरू १९ जनालाई बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा अप्रेसन गरिने सिपापोखरे स्वास्थ्य चौकीका इन्चार्ज गौरीशंकर तामाङले जानकारी दिनुभयो । शिविरमा डाः रूपा कर्माचार्य, फिजिसियन डा ः एञ्जिला बस्नेत, रेडियोलोजिस्ट डा आशिष सिंह र स्त्री रोग विशेषज्ञ डाः सुष्मा प्रधान तथा इन्द्रावती गाउँपालिकाका स्वास्थ्यकर्मी तथा स्वयमसेविकाहरुको समुहले सेवा दिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकाका नागरिकहरूको सेवाको लागि शिविर आयोजना गरेको बताउनुभयो । विशेषगरी महिला दिदीबहिनीहरूले रोग लुकाउने बानीले सानो रोग पनि ठुलो भएर जाने हुँदा आफ्नो समस्या खुलस्त रुपमा राख्न अध्यक्ष नेपालले आग्रह गर्नुभएको थियो । अब पालिकाले संस्थासँग समन्वय गरी निरन्तर काम गरिरहने बताउनुभयो ।
शिविरमा इन्द्रावती गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरी, वडा नम्बर ३ का अध्यक्ष भिमसेन थापा, वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ, वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर ६ का अध्यक्ष इन्द्र बहादुर तामाङ, वडा नम्बर ७ का अध्यक्ष रवीन्द्र कुमार खाती, वडा नम्बर ८ का अध्यक्ष दिलकुमार श्रेष्ठ, वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामा र वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र धिमीरे तथा वडा सदस्यहरू, इन्द्रावती गाउँपालिकाका प्रेस संयोजक सुनील तामाङका साथै राजनीतिक दलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
