सम्पर्क

किसानलाई धान काट्ने चटारो

नेपालको प्रमुख बाली धान पाक्न सुरु भएपछि किसानहरू धान काट्न, चुट्न तथा थन्क्याउन ब्यस्त देखिन थालेका छन् । हिन्दुहरूको महान् पर्व दसैँ सकिएलगत्तै सिन्धुपाल्चोकका किसानलाई धानबाली भित्र्याउने चटारो सुरु भएको छ । कतिपय किसानले दसैँअघि नै काट्ने बेला भएको धान समेत नकाटी दसैँ पर्वमा रमाएका थिए, अहिले उनीहरूलाई काट्न भ्याइनभ्याई छ । बिहान उठेदेखि बेलुकासम्म यतिबेला किसानहरु धान खेतमै धान काट्न र धान भित्र्याउन ब्यस्त हुने गरेका छन् । असारमा रोपेको धान राम्रोसँग मल र जल मिलेपछि अहिले ठिक्क पाक्ने समय हुन्छ तर यो वर्ष भने समयमा वर्षा नभएको र रासायनिक मलको अभाव भएको कारण सोचेजति धान नफलेको किसानको गुनासो छ ।
केही दिनअघिको वर्षाले गर्दा डराएका किसान पुनः त्यस्तै वर्षा भई पाकेर पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशङ्काले पनि धान भित्र्याउन चटारो परेको बताउँछन् ।
सिंचाई सुविधा पर्याप्त भएको ठाउँमा धान राम्रै फलेपनि टारी खेतमा भने धान कतैपनि राम्रोसँग नफलेको स्थानीय किसान माधव पराजुलीले बताउनुभयो । उहाँले धानको बाला लाग्ने समयमा फौजी किराले आक्रमण गरेको, समयमा विषादी नपाएको बताउनुभयो ।
“किटनाशक विषादीको प्रयोग कसरी कुन समयमा गर्ने थाहा पाइएन अनि बजारमा पनि भेटिएन र यसपाली धान राम्रै फलाउन सकिएन। पोहोर १५ मुरि धान भित्र्याएको खेतबाट यसपाली ८ मुरि मात्रै भित्र्याएँ” । उहाँ भन्नुहुन्छ ।
सिन्धुपाल्चोक जिल्लामा विशेषगरि जि–टेन, जि–फाइभ, मकवानपुरे, खुमलचार, शंकर, यु एस–३१२ नामका धान प्रचलित रहेका छन् । मुख्य बालीको रुपमा धान रहेपनि यहाँ धान संगै मकै, गहुँ, जौ लगायतका अन्न साथै नगदेबाली पनि खेति गर्ने गरिएको छ ।