सम्पर्क

नगर बाल सञ्जालमा श्रेष्ठ

चौतारा साँगाचोकगढी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा नगरभित्र माध्यमिक विद्यालयमा बाल क्लब र स्काउटमा आबद्ध २ छात्रा र २ छात्र सहभागीमा बालभेला, अभिमुखीकरण तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।
भेलामा नगरपालिकाका उपप्रमुख सीता थापा, सामाजिक विकास संयोजक रामप्रसाद गौतम, विभिन्न वडाका वडाअध्यक्षहरुको उपस्थिति रहनुभएको थियो ।
भेलामा उपस्थित बालबालिकालाई बालबालिका कर्मी ललित रानाले बाल अधिकार र बालबालिकाको नेतृत्व तथा सशक्तीकरणका लागि प्रशिक्षण गर्नु भएको थियो । अब बन्ने नयाँ समितिले बालबालिकाको क्षेत्रमा अझ सक्रिय रहनु पर्ने र नगरलाई बाल मैत्री घोषणा गर्न तोकिएका सूचकहरु पूरा गर्न नगर बाल सञ्जालको महत्त्पूर्ण भूमिका रहने कुरा बताउदै भेलालाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रम सञ्चालन बालबालिका तथा महिला शाखाका शाखा अधिकृत गोविन्द ढुङ्गेलले गर्नुभएको थियो । गत वर्ष गठित बाल सञ्जालले गरेका गतिविधिहरु समेत शाखाबाट जानकारी गर्नु भएको थियो ।
नगरमा बाल सञ्जालले बालबालिकाको क्षेत्रमा कति धेरै काम गर्नुपर्ने थियो तर हामीले सोचे जस्तो गर्न सकेनौँ अब बन्ने समितिले बाँकी रहेका कार्यहरु।सम्पन्न गर्ने र अझ बढी सक्रिय रहनु पर्ने कुरा बताउँदै नजिकिदै गरेको विजया दशमी २०८० को शुभकामना व्यक्त गर्दै कार्यक्रमका सभा अध्यक्ष नगर बाल सञ्जालका सचिव निरुता श्रेष्ठले औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो । औपचारिक कार्यक्रम समापन भएपछि शाखा अधिकृत ढुङ्गेलले समिति पुनर्गठनका लागि निर्वाचन समितिका संयोजक पदम पराजुलीलाई प्रक्रिया अगाडि बढाउनु समय दिनुभएको थियो ।
नगर बाल सञ्जालको नयाँ समिति पुनर्गठनमा प्रजातान्त्रिक वातावरणमा निर्वाचन प्रक्रियाद्वारा समिति चयन गर्ने भन्दै पराजुलीले निर्वाचनको प्रक्रियामाथि प्रष्ट पार्नु भयो ।
अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरि ५ पदमा निर्वाचन गरिएको थियो भने प्रत्येक वडाबाट १÷१ जना गरि १४ बाट १४ जना गरि जम्मा १९ सदस्यीय समिति गठन भएको हो । जम्मा खसेको ६५ मत मध्ये २७ मत प्राप्त गरि सुजन श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएको हो । अध्यक्षमा पदमा सुजन सहित आर्जु दंगाल, सुन्तली गिरी, अनिल अर्याल, आशिष पुरी र स्वर्णिम श्रेष्ठको उम्मेदवारी रहेको थियो । उपाध्यक्षमा पदमा निरुता श्रेष्ठ, सोनिया रसाइली र एलिसा बरालको उम्मेदवारी रहेकोमा ३६ मत सहित निवर्तमान सचिव निरुता श्रेष्ठ उपाध्यक्ष पदमा विजयी घोषित हुनुभयो । त्यस्तैगरि सचिवमा श्रेया नेपाल साहारा ढुङ्गेल, कृतिका गिरी र गरिष्मा सापकोटाको रहेको थियो भने उक्त पदमा ३१ मत सहित श्रेया श्रेष्ठ निर्वाचित हुनुभयो । सहसचिवमा सुनिता ढुङ्गेल, रिया गिरी र निमेष श्रेष्ठको उम्मेदवारीमा ३१ मत ल्याई निमेष श्रेष्ठ सहसचिव पदमा निर्वाचित भएका थिए भने कोषाध्यक्षमा १९ मत सहित अभि खड्का निर्वाचित भएको थियो । जसमा पुजा गिरी, विक्रन्त रायमाझी अनुप चौलागाई शिखर नारायण श्रेष्ठ र अभि खड्काको उम्मेदवारी रहेको थियो ।
निर्वाचित सबैलाई खादा र टीका लगाइ नगरपालिकाका उपमेयर सीता थापा, सामाजिक विकास संयोजक रामप्रसाद गौतम र महिला तथा बालबालिका शाखाका शाखा अधिकृत गोविन्द ढुङ्गेलले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।