सम्पर्क

बाह्रबिसेमा भव्य तीज कार्यक्रम

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेको आयोजनामा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारी तीज बिशेष साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आथित्यतामा शनिबार सम्पन्न भएको तीजमा हजारौ महिलाहरुले तीजको गीतमा नाचेर मनोरन्जन गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु जितु नेपाल, बबिता बानिया (जेरी), दिजराज पौडेल लगाएको प्रस्तुतिले पनि तीज मनाउन भेला भएका महिलाहरुले थप मनोरन्जन लिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको पुर्व सन्ध्यामा आयोजना गरिएको तीज विशेष कार्यक्रममा तीजको शुभकामना व्यक्त गर्दै सस्कृतिको संरक्षण र विकासमा सबैको हातेमालो हुनु पर्ने बताउँनुभयो ।

मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्होलेको चार महिनाको छोटो समयमा स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरिसकेको जानकारी गराउदै अवको ६ महिनाभित्र सर्वसाधारणले प्रत्यक्ष महशुस हुने गरि काम गरेर देखाउने दावी गरर्नुभयो ।
पैसाको अभावमा कुनै पनि नेपालीले उपचार नपाएर ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न लागिपरेको बताउदै मन्त्री बस्नेतले भने, ‘ त्यसको जिम्मा स्वास्थ्य मन्त्रीका हैसियतले मैले लिन्छु । तपाईहरुको उपचारको जिम्मा म लिन्छु । ’ विपन्नको स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न केन्द्रिय अस्पतालमा साडे ३ हजार शैया निशुल्क गराएको जानकारी गराउदै विपन्नका लागि निजी अस्पतालहरुमा समेत १० प्रतिसत शैया निशुल्क गर्नै पनि नियम कडाईका साथ लागु गराएको बताउनुभयो । कक्षा १२ सम्मको शिक्षा निशुल्क हुनु पर्छ भन्ने अभियानमा आफु लागेको र त्यसमा सबै पालिकाहरुले साथ दिनु पर्नेमा बस्नेतको जोड थियो । आफु गत निर्वाचनमा सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ बाट बिजयी भएको भए पनि क्षेत्र नम्बर १ का जनतासँगको सुख दुखमा पनि उत्तिकै साथ रहेको मन्त्री बस्नेतले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले राजनीतिमा महिलाको प्रतिनिधित्व बढ्दै जानु खुशीकाृे कुरा भएको बताउदै महिलाको सम्मान गर्ने संस्कारको पनि विकास हुनु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अर्काको कुरा काट्ने र महिलाको अपमान गर्ने संस्कारले समाजको विकास संभव नभएको बताउनुभयो ।
नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्रले सिन्धुपाल्चोकले बोलेको कुरा पुरा गरेरै छाड्ने मोहन बस्नेत जस्तो नेता पाउनु गर्वको कुरा भएको बताउँदै बस्नेत भविष्यमा प्रधानमन्त्री हुने प्रचुर संभावना भएको दावी गर्नुभयो । बस्नेत पदमा भए पनि जनताका पक्षमा काम गर्ने र पदमा नभए पनि काम गर्ने नेताको छवि बनाएको बताउदै सक्षम नेतृत्वको छहारीमा बसेर राजनीति गर्न सहज हुने स्मरण गराउनुभयो ।
कार्यक्रममा चर्चित कलाकार जितु नेपालले मोहन बस्नेत जस्तो विकास प्रेमी नेतालाई सिन्धुुपाल्चोकले मात्र होइन देशले चाडै प्रधानमन्त्रीको रुपमा पाउने विश्वास व्यक्त गर्नुभयो । कलाकार नेपालले वर्तमान समाजको यथार्तता दर्शाउने प्रहसन प्रस्तुत गरेर मनोरन्जन प्रदान गर्नुभयो ।
चर्चित दोहोरी नायिका बबिता बानिया (जेरी) र गायक दिजराज पौडेल सहितले गीत र संगीतका माध्यमबाट सहभागी महिलाहरुलाई भरपूर थप मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा पूर्व गृह राज्य मन्त्री बिष्णुविक्रम थापा, बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ, समाजसेवी माण्डवी राणा बस्नेत, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, भोटेकोशी गाउपालिकाका उपाध्यक्ष दिक्षेन शेर्पा, बाह्रबिसे नगरपालिकाकी उपमेयर मन्जु तामाङ, बलेफी गाउपालिकाकी उपाध्यक्ष सरु लामा, सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष कान्छीमाया तामाङ, मन्जु भन्डारी कविता गुरुङ लगायतले तीजको सांस्कृति महत्व र विकास निर्माणमा स्वास्थ्य मन्त्री बस्नेतले गरेका कामका बिषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बाह्रबिसे नगरपालिकाका जनप्रतिनिधिहरु, समाजसवी, शिक्षासेवी पत्रकार र स्थानिय महिला एवं पुरुषहरुको सभागिता रहेको थियो । समारोहमा उपस्थित सबै महिला एवं पुरुषहरुलाई दर समेत खुवाइएको छ । कार्यक्रममा महिला र पुरुष गरि करिव ३ हजार जनाको उपस्थिति रहेको थियो । नगरपालिकाले सबै महिलाहरुको सहभागितामा संयुक्त रुपमा दर खाने कार्यक्रम सहित भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरेका थिए ।