सम्पर्क

वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन ः स्वास्थ्य मन्त्री बस्नेत

 

काठमाडौं, १२ साउन ः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताउँनु भएको छ। देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको जानकारी दिनु भयो । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआईपीसम्मका विरामीले महसुस गर्ने गरि काम गरेको दावी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको बताउँनु भयो । वीर अस्पतालका ७०० शैया विपन्नका लागि निुशल्क गरेको, आकस्मिक कक्षमा शैया संख्या बढाएको, ओपिडी सेवा विहान ८ बजेदेखि बनाएको, अनलाईनबाट पनि टिकट काट्ने व्यवस्था लागु गरेको, भिआईपी र भिभिआईपी कक्ष दुईवाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको महसुस हुने गरि काम भएको बस्नेतले सो अबशरमा जानकारी दि नु भयो । वीर अस्पताल सुधार्न बिर अस्पातलकै सिंगो टीमको अहं भूमिका रहेको बताउँदै मन्त्री बस्नेतले ‘ वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन् । उहाँहरुको संयुक्त पहलबाट वीरमा सुधार संभव भएको छ ।’ वीर अस्पताल गरिव, विपन्न मात्र नभएर भिआईपीहरुको उपचारको पनि केन्द्र हुनु पर्ने सरकारको योजना अनुसार काम अगाडि बढीरहेको छ भन्नु भयो ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स ) का उपकुलपति प्रा. डा.भुपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ अगाडि बढाइरहेको बताउदै निकट भविश्यमै आईसियूको संख्या बढाएर सञ्चालन गर्न लागिएको बताउँनु भयो । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले १५ शैयाबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शैया सञ्चालन हुन थाले पनि सो अनुसार बजेट वृदि नभएको मा दुख लागेको बताउँदै ३८६ शैयाको अस्पताल हुदा २ अर्ब भन्दा बढी बजेट विनियोजन हुने गरेको यो वर्ष ७३ करोड मात्र बजेट विनियोजन भएको बताउँनु भयो । । गएको वर्ष ओपिडी, इमरजेन्सी गरेर ५ लाख ६६ हजार जना विरामीले सेवा पाएको बताउदै वीरमा सेवा थपिदै गएको अवस्थामा विरामीको संख्या अर्को वर्ष अझ थपिने बताउँनु भयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको अनुहार भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने बताउँनु भयो । राष्टिय चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, न्याम्सको रजिस्टार डा. ज्ञानेन्द्र शाह, रेक्टर डा. लोचन कार्की लगायतले वीर अस्पतालले प्रदान गरिरहेको सेवाको चर्चा गर्दै यसको सुधारमा सबैको हातेमालो आवश्यक रहेको बताउँनु भयो। समारोहमा उत्कृष्ठ कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको स्वास्थ्य मन्त्रीका पे्रस संयोजक रामचन्द्र दुलालले जानकारी दिनु भयो ।