सम्पर्क

स्वास्थ्य मन्त्रालयद्धारा औषधि पसलको अनुगमन सुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि देशभरका औषधि पसलहरूको अनुगमन सुरु गरेको छ ।
औषधि पसलहरू मापदण्ड विपरीत चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो । अनुगमनका क्रममा केही औषधि पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताउनुभयो । उहाँले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीहरू पनि औषधि पसलले बिक्रीका लागि राखेको भेटिएको बताउनुभयो ।
केही फार्मेसीहरूको दर्ता प्रमाणपत्र नवीकरण नभएको र विभागमा दर्ता नभएका औषधीहरू पनि फार्मेसीमा राखिएको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो त्यस्ता औषधीहरू स्याम्पलसहित फिर्ता लिएका छौँ । जसको नाममा औषधि पसल दर्ता भएको छ, उहाँ फर्मासिस्टहरु अनुपस्थित रहेको पाइयो ।
केही औषधि पसलमा कस्मेटिक औषधि पनि बिक्री वितरणका लागि राखेको पाइयो । त्यो हटाउन लगाएका छौँ । केही औषधि पसलमा औषधि पसल सञ्चालक र फर्मासिस्ट नै नभएको पनि देखियो । उहाँहरूलाई समय दिएर औषधि व्यवस्था विभागमा उपस्थित हुन भनेका छौँ ।’’
अनुगमनका क्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औषधि क्षेत्रमा विकृति आएको गुनासो प्राप्त भएपछि अनुगमन गरेको बताउनुभयो ।
फार्मासिस्टभन्दा फार्मेसीहरू झण्डै तेब्बर रूपमा सञ्चालन भएका कारण पनि औषधि क्षेत्रमा समस्या रहेको बताउनुभयो ।
‘‘देशभरका फामेर्सीहरुको अनुगमन गर्ने कार्यक्रम राखेका छौँ । त्यसै अनुरूप काठमाडौँ उपत्यकाका फार्मेसीहरूको अनुगमन गर्न लागेका हौँ । एउटा टोलीले तीनदेखि पाँच वटा फार्मेसीको अनुगमन गर्नेछ ।
फार्मासिस्ट भन्दा फार्मेसीहरू झण्डै तेब्बर रूपमा सञ्चालन भएका छन् ।
कतिपय फार्मेसीहरू स्वीकृत बिना सञ्चालन भइरहेको भन्ने गुनासो आएको छ । फार्मेसीमा परिवारका सदस्यहरूलाई राख्ने गरेको गुनासो प्राप्त भएको छ ।,’’
स्वास्थ्य मन्त्री बस्नेतले भन्नुभयो, ‘‘औषधि बिक्री वितरणमा अराजक स्थिति सृजना भयो । हाइडोजका औषधीहरू जाने भए । लागूऔषध औषधीहरू पनि गलत तरिकाले वितरण हुन थाल्यो, एन्टिबायोटिक औषधीहरू चिकित्सकहरूको प्रेस्क्रिप्सन बिना बिक्री हुन थाल्यो भन्ने गुनासो प्राप्त भएपछि यी गुनासा नियन्त्रण गर्नका लागि निरीक्षणको काम सुरु गर्न खोजेका हौँ ।’’
मन्त्री बस्नेतले फार्मेसी नभएर लाइसेन्स प्राप्त फर्मासिस्टको प्रमाणपत्र झुण्डाइएको अवस्था देखिएको बताउनुभयो । २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौँ, भक्तपुर र ललितपुरका औषधि पसलको अनुगमन गरेको छ ।