श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौति र भावी रणनीति विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम शनिवार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सम्पन्न भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जाको सँयोजनमा अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामहरी कार्कीले श्रमजिवी पत्रकार ऐनलाई कार्यान्वयनमा लगिने बताउनुभयो । उहाँले ऐन कार्यान्वयनकाक्रममा देखिएका चुनौतिहरुलाई समाधान गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी वरालले समसामयीक राजनिति र डिजिटल विस्फोट विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
जिल्लामा क्रियाशिल पत्रकारहरुले सिन्धुपाल्चोकको पत्रकारिताको अवस्था, यहाँका चुनौतिहरु र श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाका विषयमा आ –आफ्नो धारणा राख्नुभएको थियो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जिवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विदुर आचार्यले गर्नुभएको थियो ।
