रुपक पुरी /चौतारा
भूमी अधिकार मञ्च सिन्धुपाल्चोकले तार्केघ्याङ लगायत जिल्लामा रहेका अन्य गुठीहरुको समस्या तत्काल समाधानका गर्न जिल्ला मालपोत कार्यालय समक्ष माग गरेको छ ।
तार्केघ्याङ गुठीको नाममा पुजारीले कुतबापतको तिरो लिने र मालपोतले नविकरण नभएको भन्दै दोहोरो कर लिदाँ किसानहरु समस्यामा परेको भन्दै भूमी अधिकार मञ्च सिन्धुपाल्चोकका अध्यक्ष नवराज गजुरेल , उपाध्यक्ष पातली थामी सहितको टोलिले मालपोत कार्यालयका प्रमुख चण्डीप्रसाद कोईरालाई भेटेर ध्यानाकर्षण गराएको छ ।
आफुहरु गुठी सँस्था, नापी बिभाग र भुमिसुधार मन्त्रालय बारम्बार धाएपनि सबैबाट झुटो आश्वासनबाहेक केही पनि नपाएको भूमी अधिकार मञ्च सिन्धुपाल्चोकका अध्यक्ष गजुरेलले गुनासो गर्नुभयो ।
गुठीपीडितले धर्म संस्कृति जोगाउने नाममा आफूहरु अन्यायमा परेको भूमी अधिकार मञ्च सिन्धुपाल्चोकको उपाध्यक्ष पातली थामीले बताउनुभयो ।
सिन्धुपाल्चोकमा प्रमाणित र अप्रमाणित गरी १ सय ४८ प्रकारका गुठीबाट किसान समस्यामा छन् । जिल्ला मालपोत कार्यालयको तथ्यांकमा ४५ वटा मात्र गुठीका लगत भए पनि त्यसबाहेक अरु गुठी पनि रहेको भूमि अधिकारकर्मी माधव प्रसाद ढकाल बताउनुहुन्छ ।
ढकालका अनुसार जिल्लामा गुठीबाट पीडित किसानको संख्या ११ हजार १ सय ४८ छन् । गुठीले ओगटेको जमिन १ लाख ५३ हजार ८ सय २७ रोपनी छ ।
