मेलम्ची तथा इन्द्रावती नदिमा भयानक बाढी आएको आज दुई बर्ष पुरा भएको छ ।
२०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा लेदो सहितको बाढी आएको थियो । बाढीका कारण ठुलो जनधनको क्षति भयो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भए । बाढी गएको दुई बर्ष बितिसके पनि अस्थायी टहरामै बसिरहेका प्रभावितहरू जीवन गुजाराका लागि आयमूलक काम सँगै टाउको लुकाउने सुरक्षित घर कहिले पाइन्छ भन्ने पर्खाइमा छन् । मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बन्नुभएकी हेलम्बु–२ च्युरीखर्ककी जुकमाया थापामगरको आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घर सहित भएको थोरै जमिन समेत बगर बनेपछि उहाँको परिवार सुकुम्वासी बनेको छ ।
सरकारले घर बनाइदिने बताएको दुई बर्ष बितिसक्दा समेत अस्थायी टहरामै बस्न बाध्य उहाँलाई दैनिक गुजारा चलाउन समेत धौँधौँ परेको छ । हेलम्बुकै अर्का डेलिङ थापाको वृद्ध दम्पतीले दुई बर्ष देखिको अस्थायी टहराको सकस पूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउनुहुन्छ ।
बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने अझै आशामा छन् ।उहाँ राजनैतिक दलको खिचातानीले विकासका काम हुन नसकेको भन्दै दुखेसो गर्नुहुन्छ । बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै ३९२ जना लाभग्राही कायम भएकोमा हालसम्म २७५ जनाले मात्र पहिलो किस्ता पाएका छन् । मेलम्ची नगरपालिकामा कायम भएका २७१ लभग्राहि मध्ये २४५ ले पहिलो २८ जनाले दोस्रो र १ जनाले मात्र अन्तिम किस्ता पाएका छन् । यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत १७९ जना लाभग्राही मध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन् ।
जिल्लामा बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका १५७९ लाभग्राही मध्ये हालसम्म ७७६ जनाले पहिलो, ६८ जनाले दोस्रो र मात्र ७ जनाले अन्तिम किस्ता रकम पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै ५५१ घर बाढीले बगाएको थियो । ५४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको मृत्यु भयो ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सँगै ७ वटा झोलुङ्गे पुल, ९ वटा पक्की पुल र रेडियो मेलम्ची लगायत ३३ वटा सार्वजनिक संरचनाहरू ध्वस्त भएका थिए । हेलम्बुको चनौटेमा बेलि ब्रिज जडान भई सकेको छ भने मेलम्ची नदिमा जडान गर्न कार्य सुरु गरिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । बाढीका कारण विस्थापित
भएका स्थानीयहरूको स्थायी
आवास पुर्ननिर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबिच आपसी तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउनुहुन्छ ।
उहाँले गाउँपालिकाले हाल्नु पर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको बताउनुभयो । उहाँले घर बनाउन दिने भनेको ५ लाख रकम कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको बताउनुभयो । पाँच लाखले घर बनाउन अपुग भएको शेर्पाको भनाई छ ।
प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीहरूको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको स्थानीयको ठम्याई छ । यस्ता प्राकृतिक विपद्को पूर्व सूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएकोले सोको पूर्व तयारी अवस्थामा राखिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको भनाइ छ ।
उहाँले पूर्व सूचना प्रणाली जडान, वडा स्तरीय बिपद समितिलाई तालिम दिइएको तथा उद्धार अभ्यास पनि गरिएको ,वर्षा मापन केन्द्र स्थापना गरिएको बताउनुभयो ।
