गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेलम्ची नगर प्रमुखमा प्रतिस्पर्धा गर्नुभएका बालकृष्ण देउजाले नगरलाई व्यक्तिले तिर्ने दर भन्दा करको दायरा बढाउन सुझाब दिनुभएको छ ।
मेलम्ची नगरपालिकाद्वारा शुक्रबार आयोजित नगरको आगामी वर्षको नीति तथा कार्यक्रमको लागि राय सुझाब संकलन कार्यक्रममा आफ्नो धारणा राख्दै देउजाले व्यक्तिले तिर्ने करलाई सामान्यीकरण गरि दायरा बढाउँदा राजश्व बढेर विकास निर्माणमा सहज हुने बताउनुभएको हो । उहाँले नगर भित्रका सार्वजनिक जग्गा भाडामा दिएर नगरको आन्तरिक स्रोत बढाउन सुझाव दिनुभयो । संघीयताको कार्यान्वयन पछि पहिलो पटक नगरले आयोजना गरेको निर्वाचनका प्रतिस्पर्धी र राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग बजेट र नीति तथा कार्यक्रममा सुझाव लिन आयोजित कार्यक्रममा कोटेशनबाट पूर्वाधार निर्माणको कामलाई निरुत्साहित गर्दै व्यवस्थित रुपमा उपभोक्ता समिति मार्फत काम गर्ने वातावरण सिर्जना गर्न देउजाले आग्रह समेत गर्नुभयो । नगरप्रमुखमा नेकपा एकीकृत समाजवादीबाट प्रतिस्पर्धा गरेका नानीराम चौलागाईंले एक वडा एक उद्योग स्थापना गर्ने नीति ल्याउन नगरलाई सुझाव दिनुभयो । चौलागाईले कृषिलाई व्यवसायिकीकरण गर्न एक वडा एक शीत भण्डार व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उपभोक्ता समिति र कोटेशन खारेज गरेर योजनालाई दिर्घकालीन बनाउनु पर्नेमा जोड दिनुभयो ।
स्थानीय व्यवसायी एवम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिध सागरकुमार श्रेष्ठले बाहुनेपाटीबाट मेलम्चीसम्म इन्द्रावती नदिमा ड्याम बनाएर ताल निर्माण गरी पर्यटन प्रर्वद्धनमा सघाउ पु¥याउन आग्रह गर्नुभयो । उहाँले पर्यटनको माध्यम बाट मेलम्चीको समृद्धि सम्भव भएको दाबी गर्नुभयो ।
निवर्तमान नगरप्रमुख डम्बर बहादुर अर्यालले बस्तीस्तरबाटै योजना तर्जूमाको सुरुवात गर्न सुझाब दिनुभयो । उहाँले सार्वजनिक जग्गाको संरक्षणमा ध्यान नपुगेको गुनासो गर्नुभयो । उहाँले भूमी बैंकको व्यवस्था गरि बाँझो जग्गा व्यवस्थापनको नीति लिनुपर्ने बताउनुभयो । मेलम्ची नगरपालिकाको निवर्तमान उपप्रमुख भगवती नेपालले राज्यको सुविधाबाट बञ्चित एकल पुरुषलाई नीति तथा कार्यक्रममा सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले कृषिमा किसान, नगरपालिका र सहकारी साझेदारी अनुदानको मोडल अपनाएर व्यवसायिक बनाउने बजेट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
बालअधिकारकर्मी डा. कृष्ण सुवेदीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न प्रतिस्पर्धाको माध्यमबाट प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेका अध्यक्ष विजयकृष्ण श्रेष्ठले विकासलाई उत्पादनसँग जोड्नु पर्ने धारणा राख्नुभयो । उहाँले कृषि र पर्यटनको क्षेत्रमा लगानी बढाएर नागरिकको आम्दानी बढाउने नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा इन्द्रावती बहुमुखी क्याम्पसका अध्यक्ष सिपी दुलालले स्थानीय मदिरालाई वैधानिकता दिई करको दायामा ल्याएर आन्तरिक स्रोत बढाउन सकिने तर्फ सोच बनाउनुपर्ने धारणा राख्नुभयो । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका उपाध्यक्ष फडिन्द्र दाहालले कृषि उत्पादनलाई सहज रुपमा बजार पु¥याउन बजेटको व्यवस्था गर्न नगरलाई आग्रह गर्नुभयो । कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिंदै नगरप्रमुख आइतमान तामाङले आएका सुझाबलाई प्राथमिकताका आधारमा क्रमसः समावेश गरिंदै जाने प्रतिवद्धता जनाउनुभयो । उहाँले प्रयाप्त स्रोतको अभावमा सोच अनुसारको काम गर्न समस्या देखिएको बतानुभयो । तामाङले दिर्घकालीन योजना बनाएर समृद्ध मेलम्ची निर्माणको दिशामा अघि बढ्ने जानकारी दिनुभयो । उहाँले संघीय र प्रदेश सरकारसँगको समन्वयमा योजना तर्जूमा गरि आम नागरिकको भावनालाई समेटेर नीति तथा कार्यक्रम बनाउने बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख उमा प्रधानले आगामी वर्षको योजना तर्जूमाको चरणमा रहेकाले सरोकारवालाहरुले दिएको सुझाबलाई समेत आधार मानेर नीति तथा कार्यक्रम बनाउने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले कार्यक्रमले समुदायको अपेक्षा अनुरुप नीति र बजेट बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
