नकबजनी चोरी तथा अमानविय व्यवहार मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७८ मंसिर २० गतेको फैसलाले नकबजनी चोरी मुद्दामा तिन बर्ष कैद र तिस हजार जरिवाना सजाँय भई फरार सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका – ७ निवासि २१ वर्षीय सुकवीर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो । तामाङलाई ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरी टोलीले बुधबार पाँचपोखरी थाङपाल –६ टार स्थितबाट पक्राउ गरेको यादवले बताउनुभयो । प्रहरीका अनुसार सम्मानित अदालतले निजलाई लागेको कैद÷जरिवाना सजाय असुल उपरका लागि बिहिबार जिल्ला कारागार चौतारा चलान गरिएको छ ।
यसैगरि सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७९ मंसिर २१ गतेको फैसलाले अमानविय व्यवहार मुद्दामा १५ दिन कैद र पाँच हजार जरिवाना सजाँय भई फरार रहेका जिल्लाकै चौतारा साँगाचोकगढी नगरपालिका– १३ निवासि ५७ वर्षीय तान बहादुर श्रेष्ठलाई बिहिबार आफ्नै घरबाट पक्राउ गरेको छ । उनलाई जिल्ला अदालत पेश गरिएकोमा सम्मानित अदालतले लागेको कैद÷जरिवाना सजाय असुल उपरका लागि जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
