करुणा थारु
१४२ जनाको ज्यान जाने गरी २०७१ साउनमा गएको जुरे पहिरो पीडितहरुले स्थानीय स्तरबाट संकलीत भएको रकम ८ वर्षकटेपछि पाएका छन् ।
साविकको मांखा गाउँविकास समितिको जुरेमा पहिरो जादा १ सय ३५ जनाको मृत्यु भएको थियो भने करोडौको भौतीक सम्पती क्षती भएको थियो । पहिरोपछि जुरे पहिरो पीडितहरुका लागि जनस्तरबाट २ करोड २४ लाख ६६ हजार ६५७ रुपियाँ संकलन भएको थियो । तत्कालिन सर्वदलीय संयन्त्रले संकलीत रकम पीडितहरुलाई वितरण गर्न नसकेपछि तत्कालिन जिल्ला दैविप्रकोप उद्धार समितिको खातामा रकम जम्मा भएर बसेको थियो ।
विभिन्न सामाजिक संघ संस्थाहरुले पीडितहरुको नाममा जम्मा भएको रकम तत्कालन वितरण गर्न माग गरेपनि राजनीतिक दलहरु बिच सहमती हुन नसक्दा वितरण हुन सकेको थिएन । तत्कालिन जिल्ला दैवि प्रकोप उद्धार समितिले संकलन भएको रकम वितरणका लागि जुरे पहिरो प्रभावित राहात वितरण मापदण्ड समिति बनाएर पीडितहरुको वर्गीकरण गरेको थियो । अहिले रकम वितरण गर्दा त्यही मापदण्डको आधारमा नै रकम वितरण गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी निरन्जन श्रेष्ठले जानकारी दिनुभयो । घरपरिवारको मृत्यु भएकाहरुको लागि ‘क’ घर जग्गा समपत्ती क्षती भएकाहरुलाई ‘ख’ जग्गा मात्रै पहिरोमा परेकाहरुको लागि ‘ग’ वर्गमा विभाजीत गरेर त्यही आधारमा रकम वितरण गर्ने मापदण्ड तयार पारीएको तत्कालिन मापदण्ड समितिका सदस्य समेत रहेका पत्रकार युवराज पुरीले जानकारी दिनुभयो । अहिले रकम पाउँदा पीडितहरुले ४ हजार देखि १ लाख ५४ हजार रुपियाँ सम्म रकम पाएका छन् ।
जिल्ला विपद व्यवस्थापन समितिले बाह्रविसे नगरपालिका,बलेफी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुखहरुलाई पीडितहरुले पाउने चेक प्रदान गरेको छ ।
वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले तिन स्थानीय सरकारका प्रमुखहरुलाई रकमबापतको चेक हस्तान्तरण गर्नुभएको थियो । अब सम्बन्धीत स्थानीय तहको खातामा रकम जम्मा हुने र स्थानीय तहले आफ्नो पालिका भित्रका पीडितहरुलाई तोकिएको मापदण्ड अनुसार रकम वितरण गर्ने छ ।
