आगामी जेठ १ गतेदेखि काठमाडौँ उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । ठुलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको इन्जिनियर कँुवरले जानकारी दिनुभयो । भूगर्भ तथा खानी विभागका भूगर्भविद् शिव बाँस्कोटाले पोहोर साल बाढीपहिरो आएको ठाउँमा कुनै पनि रोकथाम तथा पूर्वतयारी नगरिएकाले यो वर्षको वर्षायाममा पनि बाढीपहिरोको सम्भावना कायमै रहेको बताउनुभयो । उहाँले मेलम्ची क्षेत्रमा बाढीपहिरोको विपत् अहिलेसम्म नटरेको उल्लेख गर्नुभयो ।
