चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्ण रुपमा खुल्ने हल्ला चलेपनी आंशिक निर्यातमा मात्र सिमित हुने भएको छ ।
निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनर समेत तातोपानी सुक्खा बन्दरगाहमा अहिले थन्किएका छन् । ‘निर्यात त ठप्प छ, त्यतिबेला नै तयार पारिएका सामाग्रीको फारम भरेको पनि एक साता भयो, निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन्’ तातोपानी भन्सार कार्यालयका अधिकृत दयादन्द केसीले बताउनुभयो । निर्यातका लागि खुलेपनि आंशिक मात्रै हुने केसी बताउनुहुन्छ । अब नेपालीले निर्यातका लागि नेपालबाट खाद्यान्न जडीबुटी लगाएत बस्तुहरु मितेरी पुलको आधा भागसम्म पु¥याउन सक्नेछन् । ‘मानिस आवातजावत तथा गाडी खासा सम्म जाने कुरा होईन निकासी मात्रै हो’ प्रमुख भन्सार अधिकृत केसीले जानकारी दिनुभयो ।
तातोपानी नाकाबाट पहिलेको जस्तो निर्यातका लागि नेपालीले प्रयाप्त सामाग्री उपलब्ध गराउन नसक्ने केसीको ठम्यार्ई छ । उहाँका अनुसार पहिला खासा सम्मको लागि खाद्यान्न तथा तरकारी र सतुवा लगाएत जडीबुटी समेत निकासी हँुदा नेपालीलाई राम्रो आम्दानीको श्रोत थियो । त्यतिबेला मात्रै खासामा होटल सञ्चालन लगाएत गतिविधिमा तिब्बतीयन बाहेक ५ सय नेपाली स्थायी झैं बसोबास गरेका थिए । तर खासा अहिले सुनसान छ । निकासी खुलेपनि नेपालबाट हस्ताकला समाग्री बाहेक अन्य बस्तु निर्यातको सम्भावना नभएकोे भन्सार अधिकृत केसी बताउनुहुन्छ ।
अहिले नेपाली व्यापारीहरुले खासाबाट शिल्क कम्पनीमार्फत नेपाल तर्फ दैनिक ६÷७ कन्टेनर मार्फत स्याउ, लसुन तथा लत्ताकपडा लगाएत सामाग्री मितेरी पुल सम्म ल्याउन पाउँछन् । बैठकमा व्यापारीहरुले खासासम्म आफूहरु जान दिनुपर्ने चिनिया पक्षसंग माग गरेपनि उनीहरु सकरात्मक नभएको शिल्क कम्पनीका व्यवस्थापक विजय शेर्पा बताउनुहुन्छ ।
यसअघी स्याउ, लसुन, ऊन, रोल कपडा, जलविद्युत् आयोजनाका पाइपजस्ता ठूला भारका सामग्री तातोपानी नाकाबाट ल्याइने गरेको थियो । भन्सार यार्डमा क्यु सिस्टममा ६ सयभन्दा बढी मजदुर सामान लोड–अनलोड गर्छन् । यस आर्थिक वर्षमा चार अर्ब ६२ करोड भन्सार राजस्व संकलनको लक्ष्य लिइएकोमा आहिलेसम्म दुई अर्ब २० करोड उठेको छ । आहिले चीनले ‘ट्रेड च्यानल’मा सामाग्री पठाएकाले झन्झटिलो भएको स्थानीय व्यवसायी दोर्जे लामा बताउनुहुन्छ । आहिले आउने कन्टेनरमा रड, स्याउ र लसुनजस्ता सामाग्री छन्, यी सामान पनि चीनले ‘ट्रेड च्यानल’मार्फत पठाउन थालेको छ, जसले गर्दा सम्पूर्ण सामग्री झारेर हेर्ने प्रक्रिया लामो हुन्छ । एक कन्टेनर सामग्री आउन एक महिनासम्म लाग्ने उहाँले बताउनुभयो ।रासस
