सम्पर्क

आरोहण खुलेपछि थपियो उत्साह जुगल बेसक्याम्प ’ने–पेमाछाल’मा भब्य कार्यक्रम

गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जुगल हिमाल अन्तरगत ’जुगल १’ देखि ’जुगल ५’ नामाकरण भएका थप पाँच चुचुरा आरोहण खुल्ला गर्ने र पाँच वर्ष सम्म शुल्क नलिने निर्णग गरे पछी नागरिकमा थप उत्साह थपीएको छ ।२०७५ सालबाट आरोहण खुल्ला गरिएको जुगल अन्तरगतका अन्य हिमाल समेत खुल्ला गर्ने सरकारी निर्णयले यस क्षेत्रमा खुसी थपिएको हो । काठमाडौंबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तब्यका हिमाल आरोहण खुल्ला गर्ने निर्णयले सिन्धु पर्यटनमा थप टेवा पुग्ने विश्वास सम्वन्धित क्षेत्रका विज्ञहरुको छ । जुगल आरोहण खुल्ला गर्न सुरुमा निवर्तमा सभामुख अग्निप्रसाद सापकोटा र पछिल्लो समयमा संघीय सांसद माधव सापकोटा ’सुबोध’ र प्रदेश सभा सदस्य सरल सहयात्रीले पहल गरेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो ले जानकारी दिनु भयो । पर्यटन प्रवर्धनका लागि संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तरगतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवर्धनका लागी विविध कार्यक्रम गरिएको छ । शनिबार ने–पेमाछालमा आयोजित पर्यटन प्रवर्धन कार्यक्रममा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा ’सुबोध’, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमाल कुमार श्रेष्ठलगायत ले कार्यक्रम स्थलमा पुगेर हौसला प्रदान गर्नु भएको थियो । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने–पेमाछालमा लामा गुरुहरुले आफ्नो बिधी अनुसार पूजा, जिन्लब, डुप्सी ,छेवाङ तथा धार्मिक पर्यटन प्रवर्धनका लागि विधि पुर्वक विविध कार्यक्रम गरीएको थियो । प्रबर्द्धनका लागि भन्दै जुगल गाउँपालिकाको आयोजनामा नयाँ बर्षको अवसरमा ने–पेमाछालमा प्रवर्धनात्मक कार्यक्रम आयोजना गरिएको जुगल गाउँपालिकाका अध्यक्ष स्याङ्बोले जानकारी दिनु भयो । कार्यक्रममा सहभागीता जनाउन चार दिन अघि नै हिंडेका आन्तरिक पर्यटक ने–पेमाछालमा जम्मा भएका थिए भने शनिबार दिउँसो काठमाडौंबाट हेलिकोप्टर चढेर अतिथीहरु कार्यक्रम स्थल पुगेको गाउँपालिका उपाध्उक्ष हिमाल श्रेष्ठ ले जानकारी दिनु भयो।