राष्ट्रिय समाचार समिति, राससमा नयाँ वर्ष २०८० का उपलक्ष्यमा आज रासस केन्द्रीय कार्यालय काठमाडौँमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले समाचार सेवाको विविधतासहित गुणस्तर सुधारमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सेवाग्राही आमसञ्चार माध्यमबाट प्राप्त सुझावलाई समेत मध्यनजर गरी समाचार सेवाको गुणस्तर सुधार गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले आधुनिक सूचना प्रविधिको अधिकतम प्रयोग गरी नयाँ ऊर्जा र अठोटका साथ छिटोछरितो ढङ्गबाट समाचार तथा फोटो सम्प्रेषण गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको थियो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेलले सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउँदै आएको राससको सेवा अझ प्रभावकारी र विश्वसनीय हुने विश्वास व्यक्त गर्नुभयो । मुलुकको आमसञ्चार क्षेत्रमा राससको विशिष्ट योगदान र स्थान रहेको उहाँले बताउनुभयो । उहाँले आजका दिन कुनै सञ्चारमाध्यममा पुगेर सञ्चारकर्मी साथीहरुसँग शुभकामना आदानप्रदान गर्ने सोच बनाएको र यस क्रममा आफ्नो रोजाइमा रासस परेको जानकारी दिनुभयो । कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक, अङ्ग्रेजी सम्पादन शाखा प्रमुख दीपराज सन्याल, आलेख समाचार प्रमुख कृष्ण अधिकारीलगायत विभागीय प्रमुख एवं राससका सञ्चारकर्मी तथा कर्मचारीहरुले शुभकामना आदानप्रदान गर्नुभएको थियो । सो अवसरमा यस वर्ष नेपाल सरकारबाट विभूषण प्राप्त गर्ने राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो, भरतपुर कार्यालय चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र भीमदत्तनगर कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख शेरबहादुर सिंहलाई बधाई ज्ञापन गरिएको थियो । (रासस)
