सिन्धुपाल्चोकको सदरमुकाम चौताराका किशोरीहरुलाई आत्मरक्षा तालिम दिएर शसक्त बनाउन लागिएको छ । शारीरिक खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने सीपको विकास गर्न र किशोरीहरुको आत्मरक्षामा बृद्धि गर्न तालिम दिईएको हो ।
किशोरीहरुलाई आपतकालिन अवस्थामा आत्मरक्षा गर्न सक्षम बनाउने उद्धेश्यले आदिवासी जनजाति महिला उत्थान केन्द्र र चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को समन्वय र सहयोगमा एक दिने आत्मरक्षा सम्वन्धी अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको हो ।
किशोरीहरुलाई कमजोर आँक्ने र उनिहरुमाथि विभिन्न प्रकारका दुव्र्यवहार हुने गरेकामा तालिमले यसमा कमि ल्याउने अपेक्षा समेत राखिएको छ । यसका अतिरिक्त बिहानको फुर्सदको समयको उचित उपयोग, स्वस्थ बनाउन र अनुशासन कला सिकाउन तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पानमाया तामाङको छ ।
तालिममा चौतारा साँगाचाोकगढी नगरपालिका स्तरीय गठीत समुहको ३० जना किशोरीहरुको सक्रिय सहभागीता रहेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको तालिममा नेवा मिस खलका वाग्मति प्रदेश सदस्य सोभा उलक, आदिवासी जनजाति महिला महासंघको सचिव रिना श्रेष्ठको उपस्थिति रहेको थियो ।
