सिन्धुपाल्चोकको जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको छ । बजार अनुगमन समितिको टोली बिहीबार बाह्रबिसे बजार पुगेको छ । बाह्रबिसे नगरपालिकाभर मेडिकल, हार्डवेयर, खाद्य स्टोर, किराना पसललगायतका २१ वटा व्यवसायको भने अनुमगन गरिएको थियो । जसमा दुईमा कानुनसम्मत नदेखिएपछि १० हजार रुपैयाँका दरले जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार अनुगमन गर्दा स्टिकर नभएको बेकरी सामग्री, चलकेट, बिस्कुट, जुस, आचार, चाउचाउ, विस्कुट, पेयपदार्थलगायतको सामग्री भेटिएको छ । जिल्ला प्रशासन, घरेलु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उपभोक्ता र जनप्रतिनिधिको १४ जनाको टोली ७÷७ जनामा बाँडिएर बजार अनुगमन सुरु भएलगत्तै अधिकांश हार्डवेयर, मेडिकल, खाद्यसहित अन्य व्यापारी पसलका सटर धमाधम बन्द गरेर भाग्न थालेको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउनुभयो । मंगलबार जिल्लाको सदरमुकाममा ५२ वटा पसलमा अनुगमन गर्दा नियम विपरित व्यवसाय सञ्चालन गरेका ३ वटा पसललाई २५ हजार जरिवाना गरिएको अनुगमन टोलीका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
