सम्पर्क

सुनखानीमा जन्मायो कृषि सहकारी

रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी
किसानलाई खेति लगाउने समयमा सधैं रासायनिक मलको अभाव हुने भएपछि सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ५, सुनखानीमा उद्यमशील साना किसान कृषि सहकारी संस्था स्थापना गरिएको छ । कृषि सामग्री संस्थान तथा साल्ट ट्रेडिङ कर्पोरेसनबाट रासायनिक मलको आपूर्ति गरि वितरण गर्नको लागि कृषि सहकारी अनिवार्य भएपछि सो संस्था स्थापना गरिएको हो । चैत १५ गते बुधबार सहकारी संस्थाको कार्यालय स्थापना गर्दै प्रमुख अतिथि गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठले सहकारीबाट काम गरेका गरिबी हटाउन सकिने बताउनुभयो । बैंक तथा लघुवित्त संस्थाबाट ऋण लिँदा तिरिएको सेवा शुल्क तथा ब्याज अरुले नै पाउने तर सहकारीमा ऋण लिँदा तिरिएको ब्याज तथा सेवा शुल्क पनि आफैंले फिर्ता पाउने उहाँले बताउनुभयो । सहकारीमा जम्मा भएको रकमबाट सहकारीकै सदस्यहरुको आयआर्जन वृद्धिमा प्रयोग गरिने हुनाले यसलाई गरिबको बैंकको रुपमा लिदैं बचत तथा ऋणको कारोबार गरी आयआर्जन बढाउनुपर्ने उनले बताउनुभयो । मलकै अभावमा लगाएको बालीमा उत्पादन घट्दै गएपछि गाउँमा खेति बाँझै छाड्ने क्रम बढ्न थालेपछि यसको समाधानका लागि संस्था स्थापना गरिएको संस्थाका अध्यक्ष बलबहादुर भुजेलले बताउनुभयो । स्थानीय किसानहरूको नेतृत्वमा किसानहरुकै लागि स्थापना गरिएको यस संस्थाले आगामि दिनमा रासायनिक मल वितरण गर्नुका साथै सदस्यहरुलाइ सहुलियत ऋण तथा विउविजन र कृषि सामग्री समेत वितरण गर्ने योजना रहेको अध्यक्ष भुजेलले बताउनुभयो । संस्थामा शेयर सदस्यको संख्यामा वृद्धि गर्दै संस्थालाई विकास गर्दै लैजाने उनले बताउनुभयो । सहकारी संस्थाको कार्यालय स्थापना कार्यक्रममा बक्ताहरुले रासायनिक मल मात्रै नभइ गाईभैंसीको मलमुत्रको सदुपयोग गर्दै कृषि उत्पादन बढाउन पर्ने कुरामा समेत जोड दिनुभयो । सहकारी मार्फत आफ्नो आयआर्जन बढाउन विभिन्न सिपमुलक तालिमहरु समेत सञ्चालन गर्ने बताउनुभयो । सबैका लागि एक र एकका लागि सबेै भन्ने सहकारी सिद्धान्तको आधारमा सहकारी अगाडि बढ्ने उनिहरुले विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा सुनकोसी गाउँपालिका वडा नंं. १,३,४र ५ का वडाध्यक्ष क्रमशः कुमार शाहि, ईश्वर तामाङ , भोजराज श्रेष्ठ र जालबहादुर लामा, हिरालाल भुजेल, बिन्दा आचार्य, लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो । २०७९ साल पुस २९ गते सुनकोसी गाउँपालिकाको कार्यालयमा दर्ता भएको सहकारीमा हालसम्म ३ सय भन्दा धेरै जना सदस्य रहेका छन् ।