सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाभित्र रहेका सहकारीका प्रमुखहरु बिचको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्था संचालन तथा व्यबस्थापन, सहकारी संस्था एकिकरण प्रोत्साहन तथा प्रर्वद्धन र विद्यमान सहकारी ऐन, नियम, कानुन र मापदण्डको कार्यान्वयन र कोपोमिस सञ्चालन र प्रयोग सम्बन्धी सहकारी संस्थाका प्रमुखहरुको भेला तथा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर प्रमुख आइतमान तामाङले एउटै उद्धेश्य र प्रकृतिका सहकारी संस्थाहरुलाई एकिकरण गरि सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारी ऐन, नियम, कानुन र मापदण्ड पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नगर प्रमुख तामाङले एक वडा एक नमुना सहकारी संस्था छनोट गर्ने नगरपालिकाको निति तथा कार्यक्रम रहेको हुँदा सोहि अनुसार आफ्नो गतिविधि र क्रियाकलाप अगाडि बढाउन निर्देशन दिनुभयो । आगामि दिनमा नगरले सहकारीको विकास र प्रर्वद्धन गर्नका लागि संस्थाका कर्मचारी तथा पदाधिकारीको क्षमता अभिवृद्धिको लागि नगरपालिकाले गर्नुपर्ने काममा कुनै कसुर बाँकि नराख्ने तामाङले उद्घोष गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाको उपप्रमुख उमा प्रधानले महिला सहकारीलाई प्रर्वद्धन गर्दै जानुपर्ने बताउनुभयो । उहाँले महिलाहरुको क्षमता र नेतृत्व विकास सहकारी मार्फत भएको हुँनाले सहकारीमा आवद्ध भएर नेतृत्व गर्न आग्रह समेत गर्नुभयो । उहाँले सहकारी संचालन तथा ब्यबस्थापनलाई चूस्त दुरुस्त बनाई संस्थागत क्षमता अभिवृद्धि गर्दै सहकारी भ्रमणको गन्तव्य स्थलको रुपमा मेलम्ची नगरपालिकालाई पहिचान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा सहकारी शाखाका प्रमुख सोम थोकरले प्रत्यक आर्थिक बर्षमा कम्तिमा १ पटक सहकारीको अवलोकन गरि तथ्याङ्क अद्यावधिक गर्दै आएको बताउनुभयो । उहाँले अनुगमनको क्रममा देखिएका समस्याहरु समाधानका लागि सहकारी शाखाबाट तालिम तथा प्रशिक्षण गर्ने गरेको उल्लेख गर्दै आगामि दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने बताउनुभयो ।
