पत्रकार महासंघ बागमती प्रदेशले पर्यटन पत्रकारीता तालिम सुरु गरेको छ । सिन्धुपाल्चोक र नुवाकोटको सिमानामा पर्ने चिसापानीमा आयोजना गरिएको दुई दिने पर्यटन पत्रकारीता तालिम शुक्रबारबाट सुरु भएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले तालिमको उद्धघाटन गर्दै नेपालको पर्यटकीय संभावनाहरुलाई उजागर गर्न पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा रुपान्तरण गर्न संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य धु्रबकुमार रावल, बागमती प्रदेश अध्यक्ष शिव देबकोटा, नुवाकोट जिल्ला अध्यक्ष कपिलदेब खनाल, बरिष्ठ पत्रकार कुबेर चालिसे लगायतले मुलुकको आर्थिक बिकासमा संचार क्षेत्रको भूमिका लगायतका बिषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ वागमती प्रदेश समिति अन्तर्गतका ९ वटा जिल्लाका १८ जना पत्रकारहरुको सहभागिता रहेको तालिममा बरिष्ठ पत्रकारहरु कुबेर चालिसे, टिपी भुसाल र अशोक सिलवालले पर्यटन पत्रकारीताका बिबिध पक्षहरुका बारेमा प्रशिक्षण दिने महासंघका प्रदेश सचिव युवराज पुरीले जानकारी दिनुभयो । उहाँले यो तालिमले पर्यटन र आर्थिक विकासका लागि समेत सहयोग पुग्ने बताउनुभयो ।
