मेलम्ची नगरपालिकाको १३औं नगरसभा बुधबार मेलम्चीमा सम्पन्न भएको छ । नगरसभाले नगरपालिकाको शिक्षालाई ब्यबस्थित गर्न बनेको शिक्षा ऐन २०७५को तेस्रो संशोधन सर्वसम्बत पारित गरेको छ । त्यस्तै नगरसभाले विभिन्न विषयगत समितिहरुले चालु आर्थिक बर्षको हालसम्म गरेको कार्यहरुको प्रगती विवरण सभामा छलफल भइ पारित भएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । त्यस्तै आर्थिक ऐन समेत संशेधन सहित पारित गरेको तामाङले जानकारी दिनुभयो । त्यस्तै नगरपालिकाको १ अर्व ६८ करोड बराबरको विनियोजित बजेटमा संशोधन सहित पारित गरिएको हो । प्रस्तुत गर्नुभएको प्रतिवेदनमा निर्वाचित भएको ८ महिनाको अवधीमा लैङ्गिक उत्तरदायी रणनैतिक योजना, २०७९ ,राजस्व सुधार कार्ययोजना, २०७९, गर्भवती तथा सुत्केरी महिलाको यातायात तथा पोषण खर्च भुक्तानी सम्बन्धी कार्यविधि, २०७९, शव बहान संचालन तथा व्यवस्थापन कार्यविधि, २०७९ नगर खेलकुद विकास समिति संचालन कार्यविधि, २०७९ निमार्ण गरि कार्यान्वयनमा रहेको उल्लेख गरिएको छ ।
सुशासन तर्फ नगरपालिका, वडा कार्यालय सहित सबै स्वास्थ्य संस्थाहरुमा ई–हाजिरी प्रणाली जडान गरिएको , राजस्व संकलन प्रणालीलाई पारदर्शी बनाउँन सफ्ट्वेयर संचालान गरी राजस्व संकलनको कार्यलाई सबै वडा कार्यालयहरुमा विस्तार गरिएको र व्यक्तिगत घटना दर्ता, लेखा प्रणाली, जिन्सी व्यवस्थापन प्रणाली, योजना व्यव्स्थापन प्रणाली, न्यायिक व्यवस्थापन प्रणाली, दर्ता चलानी एवं सिफारिस प्रणाली लगायतका कामहरुलाई सफ्टवेयर प्रणालीमा आवद्ध गराई नगरपालिका भित्रका सेवालाई प्रविधिमैत्री बनाइएको उल्लेख गरिएको छ ।
सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको र बाँकि ६ वटा वडामा क्रमश गरिने, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी मार्फत सेवाग्राहीहरुको गुनासो, उजुरीका सम्बन्धमा तत्काल सुनुवाई हुने व्यवस्था मिलाइएको , सबै विद्यालय र सहकारी संस्था लगायत नागरिकको सरोकार रहने निकायहरुमा अनिवार्य सूचना अधिकारीको व्यवस्था गर्ने कार्यको शुरुवात गरिएको प्रतिवेदनमा उल्लेख छ ।
नगर प्रमुख तामाङद्धारा प्रस्तुत प्रतिवेदनमा भवन, योजना तथा पूर्वाधार निर्माण तर्फ चालु आर्थिक बर्षको पौष मसान्तसम्म २५ प्रतिशत योजना निर्माणका कार्यहरु सम्पन्न गरिएको छ भने पूँजीगत खर्च तर्फ १४.७५ प्रतिशत वित्तिय प्रगति हाँसिल गरिएको जनाएको छ ।
चालु आर्थिक बर्षको पौष मसान्तसम्म वडा नं. ३, ८ ,१० र १३ को पक्की वडा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको ,वडा नं. ७ र ९ को पक्की वडा कार्यालय भवन निर्माण गर्नको लागि बोलपत्र आव्हान भई सम्झौता गर्ने कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले शिक्षा तथा खेलकुद कार्यक्रम अन्तर्गत हालसमम २३.४८ प्रतिशत वित्तिय प्रगति हाँसिल गरिएको नगर प्रमुख तामाङले बताउनुभयो । नगरपालिकाको आन्तरिक श्रोतबाट कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजाको शुरुवात गरिएको , शिक्षक सेवा आयोगबाट माध्यमिक तहमा स्थायी नियुक्ति लिई आउनु भएका ७ जना शिक्षकहरुको पदस्थापना गरिएको, नगरपालिकाको आन्तरिक श्रोतबाट क्रमशः कक्षा १२¸ १०¸ ८ र ५ सम्म संचालित विद्यालयका प्रधानाध्यापकहरुलाई प्रति महिना रु १¸२००÷– , रु १¸०००÷– , रु ८००÷– र रु ५००÷– का दरले प्रधानाध्यापक भत्ता थप गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सभामा नगर उपप्रमुख उमा प्रधानले आर्थिक प्रतिवेदन २०७९÷८०, न्यायीक समितिको प्रतिवेदन र विनियोजित बजेट प्रस्तुत गर्नुभएको थियो । सभामा प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धिताल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो
