सम्पर्क

तेर्से माविमा मेलम्ची र हेलम्बुका विद्यायबीच गणित प्रतियोगिता सम्पन्न

कृष्ण ढुङ्गाना
मेलम्ची नगरपालिका स्थित तेर्से माध्यमिक विद्यालयले विद्यालयको ३२ औं वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा रहेका माध्यमिक विद्यालय स्तरीय एसइइ गणित प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा १० मा अध्ययनरत यस वर्षको एसइइ परीक्षामा सहभागि हुने विद्यार्थीहरुका लागि एसइइ तयारी स्वरुप गणित विषयको प्रश्नपत्र समाधान गराउने गरी उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । मेलम्ची र हेलम्बुका गरी १७ विद्यालयबाट ४२ जना विद्यार्थीहरु सहभागी उक्त प्रतियोगितामा श्री तेर्से माध्यमिक विद्यालयबाट अनिता कुमारी शाह ९८ अंकका साथ प्रथम हुन सफल भएकी छिन् भने द्धितीय र तृतीय स्थान पनि सोही विद्यालयबाट क्रमशः रोनिशा देउजा र बिरजीत तामाङले प्राप्त गरेका छन् । त्यस्तै इष्ट पोइन्ट एकेडेमीका दिनेश भारतीले सान्त्वना स्थान प्राप्त गरेका छन् । गणितप्रति आम विद्यार्थीको वितृष्णा बढ्दै गएकोमा यसप्रति विद्यार्थीको आकर्षण बढाउन र विद्यार्थीहरुबीच आपसमा प्रतिश्पर्धात्मक भावनाको विकास गराई गणित सिकाइमा सुधार ल्याउने उद्देश्यले विद्यालयले हरेक वर्ष यस प्रकारको कार्यक्रम आयोजना गरिरहेको विद्यालयका गणित शिक्षक जीतबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिता अनिवार्य गणित विषयको पूर्णतः एसइइ मोडलमा सञ्चालन गरिएको थियो । यसै बीच विद्यालयले २२ गतेदेखि वडा तथा नगर स्तरीय विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गरेको छ । वडा स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल समेत सम्पन्न भएको छ । जसमा छात्र तर्फ तेर्से मावि प्रथम भएको छ भने छात्रा तर्फ बतासे माध्यमिक विद्यालय प्रथम भएको खेल संयोजक शिक्षक भीमबहादुर तामाङले जानकारी दिनुभयो । विद्यालयको वार्षिकोउत्सव विशेष समारोह मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाञको प्रमुख आतिथ्यतामा बुधबार हुँदैछ ।