“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने नाराका साथ सञ्चालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शील्ड खेलकुद उपाधी बाल शिक्षा माध्यमिक विद्यालयले उचालेको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको आयोजनामा भएको रनिङ शील्ड प्रतियोगितामा बाल शिक्षा माध्यमिक विद्यालयले २८ स्वर्ण ल्याई राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । प्रतियोगितामा आनन्द माध्यमिक विद्यालय ११ स्वर्ण सहित द्वितिय र सरस्वती माविले ४ स्वर्णसहित तृतीय भएको थियो ।
२ दिने राष्ट्रपति रनिङ प्रतियोगितामा पालिका भित्रका ११ वटा विधालयले सहभागिता जनाएका थिए ।
मंलबार जिल्लाको क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा समापन भएको हो । सांसद सापकोटाले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । विद्यालयलाई खेलकुदमैत्री बनाउने र खेलको विकास गर्दै गाउँपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले बताउनुभयो । खेलकुदले युवा विद्यार्थीलाई अनुशासित, जिम्मेवार र राष्ट्रवादी बनाउने बताउँदै उहाँले आगामी दिनमा खेलकुद प्रतियोगितालाई थप विस्तार गर्दै लैजाने र विभिन्न खेललाई पालिकास्तरीय, नगरस्तरिय अन्तरपालिकास्तरीय र राष्ट्रियस्तरका प्रतियोगिता गर्दै जाने योजना रहेको समेत बताउनुभयो । कार्यक्रकलाई सम्बोधन गर्दै उपाध्यक्ष सरु लामा तामाङले समग्र खेलकुदलाई अगाडि बढाउन गाउँपालिकाले खेल प्रशिक्षक राख्न आफुले प्रस्ताव लाने र उक्त प्रस्ताव कार्यान्वयन गराउन सम्पुर्ण कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु, अभिभावकहरु, खेलप्रेमीहरु, विद्यार्थीहरुले साथ दिन आवश्यक रहेको बताउनुभयो । उहाँले दुई तीन दिनको तयारीमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेकोमा आफुलाई अत्यन्तै खुशी लागेको समेत बताउनुभयो । गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
