पाण्डब अधिकारी
मेलम्ची नगरपालिका वडा नं. ९ मा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को चौथो बार्षिक साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न भएको छ । साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारीको शेयर पूँजी बढाउन अनुरोध गर्नुभयो । रासायनिक मलको अभाव देशभर भएकोले यो राष्ट्रिय समस्या रहेको बताउँदै प्रमुख अतिथि तामाङले नगरपालिकालाई आवश्यक मल आपूर्ति गर्न आफूले भरपूर पहल गर्दै आएको बताउनुभयो । उहाँले किसानले बाँदरबाट दुख कष्ट झेल्नु पर्ने समस्यालाई मध्यनजर गर्दै नियन्त्रण गर्न नगरले बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । प्रमुख अतिथि मेयर तामाङले सहकारीको माध्यमबाट किसान आत्मनिर्भर भइ आम्दानी बृद्दि गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका बिशेष अतिथि वडा अध्यक्ष किरणदीप खड्काले वडाभित्र धेरै सहकारी दर्ता भएर नियमित संचालन हुन नसक्नुका विविध कारण र आफ्ना अनुभवहरु राख्नुभयो । उहाँले संस्थामा वित्तीय अनुशासनमा अत्यन्तै महत्वपूर्ण पाटो रहेकोले यसमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । अर्का विशेष अतिथि सूर्यमुखी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मित्रलाल चौलागाइले कृषि क्षेत्र बिचौलियाको शोषणबाट माथि उठ्न नसकेको बताउनु भयो ।सहकारी मार्फत समतामूलक समाज निर्माणमा बल पुग्ने उहाँको तर्क रहेको छ ।
’कृषिमा अत्याधिक व्यक्ति संलग्न रहे पनि हाम्रो परम्परागत निर्वाहमुखी खेतीका कारण फाइदा लिनु पर्ने वर्गले फाइदा लिन सकेको छैन।’– विशेष अतिथि चौलागाईले भन्नुभयो – ’नगण्य संख्यामा केही बाहेक सतही र देखावटी हिसाबले मात्र व्यवसायिक बनेका छन, बिक्री बिनाको उत्पादन व्यवसायिक हिसाबले केही अर्थ छैन ।’ उहाँले संगठित भइ उत्पादित बस्तुको गुणात्मक र गुणस्तर दुबै पुरा गर्न सहकारीको आवश्यकता र खाँचो रहेको प्रष्ट्याउनु भयो । विशेष अतिथि चौलागाईले सहकारीको आवश्यक मर्म र भावना अनुरूप शेयर सदस्यहरुलाई कृषि, पशु लगायतका व्यवसायमा लाग्न व्यवसायिक योजना साथ अघि बढ्न आग्रह गर्नुभयो ।
भवन निर्माणका लागि अघिल्लो आर्थिक बर्ष मेलम्ची नगरपालिकाबाट १८ लाख २२ हजार ८ सय ९० रूपैयाँ र यस आर्थिक बर्ष ४ लाख २७ हजार २ सय ९३ रुपियाँ प्राप्त गरेको संस्थाका अध्यक्ष केशव बिष्टले जानकारी दिनुभयो ।
