देबराज सुबेदी मेलम्ची .सञ्चारकर्मीहरुका लागि बहुप्रकोपीय पूर्वसूचना प्रणाली तथा प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मेलम्चीमा सम्पन्न भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मेलम्ची नगरपालिकाको संयुक्त आयोजना तथा रिजनल इन्टिग्रेटेड मल्टी हाजार्ड अर्ली वार्निङ सिस्टम (राइम्ज)को प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो ।
अभिमुखीकरण कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले प्रभावमा आधारित पूर्वसूचना प्रणाली तथा पूर्वकार्यका बारेमा सहभागीहरुलाई प्रस्ट पार्नुभयो । त्यसैगरी शाखा अधिकृत जितेन्द्र अधिकारीले विपद्का विविध पक्षबारे जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागका उपसचिव शान्ति कँडेलले प्रभावमा आधारित पूर्वानुमान प्रणालीबाट आमसमुदायले फाइदा लिन सक्ने बताउनुभयो । उहाँले महाशाखाको जानकारीका आधारमा किसान समुदायले पनि लाभ लिन सक्ने जानकारी दिनुभयो । विभागकै मौसम भण्डारीले बाढीपहिरोको पूर्वानुमानका विषयमा जानकारी दिनुभयो ।
सञ्चारकर्मी जगदीश खरेलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा पत्रकारको भूमिकाका विषयमा प्रस्ट्याउनुभयो । स्थानीय तह तथा विषयगत संघसंस्थाले स्थानीय मिडिया तथा सञ्चारकर्मीहरुसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत धितालले विपद् न्यूनीकरण तथा व्यवस्थापनका सवालमा नगरले गरेका कामका बारेमा जानकारी दिँदै सञ्चारकर्मीहरुसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । राइम्जका सुशान्त शर्माले पनि सञ्चार माध्यमसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो । नगरका वातावरण अधिकृत सुजन दुलालले आगामी दिनमा पनि सञ्चारकर्मीहरुका लागि प्रभावकारी कार्यक्रम ल्याई यस क्षेत्रको जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहकार्य गर्ने जनाउनुभयो ।
पत्रकार बालचन्द्र सापकोटाले यस्ता कार्यक्रमले पत्रकारहरुको क्षमता वृद्धि भई विपद्का बेला रिपोर्टिङ गर्न सहज हुने प्रतिक्रिया दिनुभयो ।
