सम्पर्क

दुई उद्यमी सम्मानित

आठौं उद्योग दिवसको अवसरमा उत्कृष्ट उद्यम गर्ने दुई जना उद्यमी सम्मानित भएका छन् । उद्योग र रोजगारः समृद्धिको आधार भन्ने नाराका साथ मनाइएको उद्योग दिवसको असवरमा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की उद्यमी ङ्याउरीमाया घले र वडा न ८ का जीतवहादुर गिरी उत्कृष्ट उद्यमीको रुपमा सम्मान गरेको छ । देशभरका ७५३ वटै स्थानीय तहमा मनाउन र आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्नेलाई सम्मान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो । स्थानीय तह क्षेत्र भित्रका उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न आग्रह भएको मन्त्रालयले जनाएको घरेलु तथा साना उद्योग सिन्धुपाल्चोक कार्यालयका प्रमुख विश्वनात काफ्लेले बताउनुभयो । उहाँले व्यवसायिक उत्थान, घरेलु तथा साना उद्योग कार्यालयबाट हुने सेवा प्रबाह, उद्यमिहरुको व्यवसायिक योजना र समयानुकुल क्षमता अभिवृद्धि लगायतको क्षेत्रमा कार्यालयले कार्य गर्नुपर्ने बताउनुभयो । घरेलु तथा साना उद्योग विकास कार्यालय, सिन्धुपाल्चोकद्धारा शुक्रबार आयोजित कार्यक्रमको प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले समुदायमा उत्पादन र उद्योगलाई प्राथमिकतामा नजोडिकन गरिएका विकास निर्माण अपूर्ण हुने बताउनुभयो । कार्यक्रममा प्रमुख विश्वनाथ काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हरि विकले र स्वागत कार्यालयका प्रविण वस्नेतले गर्नुभएको थियो । घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उषा तामाङ लगायतका वक्ताले शुभकामना मन्तव्य राख्नुभएको थियो । भने कार्यक्रममा पत्रकार माहसंघका अध्यक्ष जिवन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।