आगामी मंसिर ४ मा हुने निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ । पुर्ब मन्त्री बस्नेत गठबन्धनकै नेतृत्वदायि भुमिकामा रहनु भएको छ । समग्र सिन्धुपाल्चोकको निर्वाचनको विषयमा बस्नेतसँग लोकप्रिय समाचारले गरेको कुराकानी ः–
१. तपाई अहिले २ नं. क्षेत्रमा निर्वाचन लड्दै हुनुहुन्छ के छ यँहाको स्थिती ?
हो म यस पटक सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधीसभा सदस्यको लागी उम्मेदवार बनेको छु । मलाई बाम लोकतान्त्रिक गठबन्धनले यस क्षेत्रमा पठाएको छ । म नेपाली कांग्रेस पार्टीको केन्द्रिय सदस्य हुँ । म केन्द्रिय नेता भएका कारण मेरा लागी सबै निर्वाचन क्षेत्र बराबर हो र तर पनी मेरो जन्म क्षेत्र १ नं. हो म २ नंम्बरबाट निर्वाचन लड्दै छु । त्यति मात्र फरक हो म जिल्लामा हरेक पटक परेको समस्याको समधानका लागी पहल गर्दै आएको हुँदा मेरो लागी २ नं. क्षेत्र पनी १ नं. जस्तै राम्रो छ ।
म सिन्धुपाल्चोक जिल्लाको दुवै क्षेत्रमा समान रुपमा काम गर्दै आएको मान्छे हुँ । बिगतमा सिन्धुपाल्चोक– १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएर २ पटकसम्म मन्त्री हुने अवसर पाएको छु ।
त्यस अबस्थामा १ नं क्षेत्रको क्षेत्रको विकासको काममा अलि बढी प्राथमिकता दिएको देखिएको हो । तैपनी यस क्षेत्रका साथीहरुले माग गरेको योजनाहरु सबैमा बजेटको ब्यवस्था गरिदिनका साथै क्षेत्र नं. २ मा ३० वर्ष अघिदेखि एस.एल.सी.को कक्षा निःशुल्क मैले नै गरेको हो । त्यहाँबाट चुनाव जितेका नेताहरूभन्दा म सो क्षेत्रमा बढी खटेको छु । आजभन्दा २१ वर्ष अघि स्वास्थ्य राज्यमन्त्री भएको बेलामा साबिक ३ नं. नं. हाल २ नं. क्षेत्रमा अस्पताल बनाइदिएको थिएँ । कोभिडका बेला अस्पतालमा सिटामोल किन्न समेत नपाउँदा मैले माक्स सिटामोल खाद्यन्न जस्ता अत्यावश्यक बस्तुहरु समेत निःशुल्क ल्याइदिएको थिएँ । त्यस्तै बाढीपहिरो पीडित २ सय जना बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्तिको व्यवस्था गरेको छु । पुल बनाएको छु कोभिडको समयमा ब्लडका साथै अक्सिजन सहितको उपचार केन्द्र र सबै क्षेत्रमा स्वास्थ्य सामग्री पुर्याउने काम गरेको थिए । स्थानीय नागरिकहरु हरेक प्रकोपमा परेको थाहा पाउँनासाथ अरु हरेक काम छोडेर केहि राहतका सामाग्री लिएर यस क्षेत्रमा आएका कारण पनी मेरो स्थिती बलियो छ । मैले हेलम्बुको ग्याल्थुममा गरिब र पिडीतहरुलाई ३० परिवारलाई बासस्थानको समेत ब्यबस्था मिलाई दिएको छु ।
त्यसैले २ नम्बर क्षेत्रका मतदाताले मैले गरेको काम देखेर यो मान्छे हाम्रो क्षेत्रमा आइदिए हुन्थ्यो भन्ने चाहाना गरेकाले नै उम्मेदवारी दिएको हो । काँग्रेसले संघको चुनाव नजितेको ठाउँमा मैले चुनाव जित्छु भन्ने विश्वासले नै पार्टीले मलाई टिकट दिएको हो । यँहा मेरो मात्र होइन गठबन्धनका उम्मेदवारहरु युवराज दुलाल, कृष्ण कुमार तामाङ जस्ता युवा सामाजिक बिकासप्रेमी भाइहरु साथमा हुनुहुन्छ त्यस कारण पनि स्थिती बलियो रहेको छ । यो १ नं क्षेत्र लगायत २ नं. क्षेत्रमा पनी गठबन्धनको स्थिति बलियो रहेको छ । खाली कती मतान्तरले अगाडी जाने भन्ने मात्र फाइनल हुन बाँकी रहेको छ ।
२. तपाईलाई नै मतदाताले किन चुन्ने ?
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा बाटो, स्वास्थ्य सुविधा र अन्य विकासका काम अलपत्र छन् । एमालेबाट दुई पटक जितिसकेको उम्मेदवारले केही पनि नगरेको कारण मलाई मतदाताले रुचाउँछन् । सिन्धुपाल्चोकको मतदाता मेरो कामबाट प्रभावित छन् । जनतालाई आपत पर्दा सधै मोहन बहादुर बस्नेत हाजिर हुन्छ भन्ने मैले पारेको प्रभाव मेरो सम्पत्ति हो । यही प्रभावलाई जोगाईराख्न र सिन्धुपाल्चोकको विकासको अधुरो कामहरु पूरा गर्न जनताले मलाई चुन्नेछन् । पहिला पनि अत्याधिक मत पाएको मान्छे हुँ । अहिले जनतालाई मेरो आवश्यकता परेको छ । त्यसैले जनताले मलाई चुन्छन् भन्नेमा ढुक्क छु ।
३. तपाईले जित्ने आधार के के छन् ?
जनतालाई अहिले गफ दिएर हुँदैन । किनभने जनताले पत्याउँदैनन् । काम गरेर देखाएपछि मात्रै पत्याउँछन् । जसरी बोलेको छ त्यसरी नै काम गरेर देखाउनुपर्छ । म काम गरेर पनि प्रमाणित भइसकेको मान्छे हुँ । मैले पञ्चायत कालदेखि जनताको काम गर्दै यहाँसम्म आए । राजनीतिक भन्दा पनि सामाजिक कामको माध्यमबाट जनतामाझ म परिचित छु । यही नै मेरो जितको बलियो आधार हो ।
४. तपाईले यस क्षेत्रको बिकास गर्ने के के योजना छन् ?
मैले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको लागि निर्वाचित भए पछि अगाडी बढाउने केही योजनाहरु छन् । जस्तै ः
१. वर्तमान परिप्रेक्ष्यमा शिक्षा हामी सबैका लागि अभिन्न अंग हो । विगतको इतिहासलाई साक्षी राखेर पल्टाउने हो भने मेरै नेतृत्वमा विभिन्न समस्याको बाबजुद विविध जोखिम मोल्दै ३२ बर्ष सिन्धुपाल्चोकका विद्यार्थीहरुलाईनिःशुल्क एस.एल.सी.कोचिङ्ग पढाएको कुरा अधिकांशलाई थाहा नै छ । मेरो अबको लक्ष्य भनेको हरेक जनताका छोराछोरीले गुणस्तरीय शिक्षा पाउन भन्ने नै हो त्यसका निम्ति सिन्धुपाल्चोक जिल्लामा केही पालिकाबाट सुरूवात गरिएको कक्षा १२ सम्म गुणस्तरीय संँगै निःशुल्क रुपमा शिक्षा प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै जिल्लाभर १२ कक्षासम्म निःशुल्क गराउने र विद्यालयहरुलाई आवश्यकता अनुसार सहयोग गर्ने रहेको छ भने स्नातक तहसम्मको शिक्षा निःशुल्क गराउने अभियान सिन्धुपाल्चोक बाटै सुरुवात गर्ने लक्ष्य रहेको छ ।
यतिमात्र नभई बजारमा छिटो बिक्ने खालका प्राविधिक जनशक्ति निर्माण गर्ने उद्देश्य साथ खोलीएका प्रविधिक शिक्षालयहरुलाई आवश्यक सहयोग गर्दै आवश्यकता अनुसार नयाँ प्रविधिक शिक्षालयहरु र विषयहरु थप गर्ने योजना रहेको छ । साथै, सदाका दिनहरुमा झैँ बाढी पहिरो आगजनी लगायत विविध समस्यामा परेका गरिब तथा असाहय बालबालिकाहरुलाई शिक्षाको प्रत्याभूति गराउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दछु ।
२. हाम्रो प्रमुख पेसा भनेको कृषि हो । कृषिक्षेत्रको विकास बिना हाम्रो आर्थिक स्तर उकास्न कठिनाइ छ । तसर्थ, निर्वाचन क्षेत्र भित्र उन्नत कृषिको लागि चिस्यान केन्द्र स्थापना गर्ने देखि लिएर समयमै उन्नत विउबिजन, मलखाद लगायतको व्यवस्थापन गर्दै कृषि क्षेत्रमा विभिन्न संघ संस्था र सम्बन्धित निकायहरुसँग समन्वय गरि विभिन्न कृषि सम्बन्धी कार्यक्रम संचालन गर्ने योजना बनाएको छु ।
यतिमात्र नभई सिन्धुपाल्चोक जिल्लामा हिमाली आलुको सम्भावना रहेको हुँदा कृषकहरुलाई हिमाली आलुको विउबिजन र राष्ट्रिय अन्तराष्ट्रिय स्तरको बजार व्यवस्थापन गरि हिमाली आलुको ब्राण्ड बनाउने लक्ष्य रहेको छ साथै, कृषिको क्षेत्रमा कार्य गरिरहेका कृषि सहकारी संस्थाहरुलाई आवश्यक सहयोग गर्ने र कृषि उपजहरुको बजारीकरणमा सहयोग गर्ने लक्ष्य राखेको छु ।
३. सूचना प्रविधिको क्षेत्रमा भएको युगान्तकारी परिवर्तनले ईन्टरनेटको प्रयोग गरि विश्वका जुनसुकै कुना कन्दराबाट खबरहरु एउटा स्मार्ट फोनको माध्यमले आदनप्रदान गर्न सकिने कुरा सर्वबिदितै छ । सूचना प्रविधिको प्रयोगसँगै हरेक नागरिकहरुमा सामाजिक सञ्जाल प्रयोगको मोह बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै शिक्षा स्वास्थ्य लगायत हरेक क्षेत्रमा सहयोग पुगोस् भन्ने अपेक्षा सहित सिन्धुपाल्चोक जिल्लाका हरेक ठाउँहरुमा वाईफाई सुविधा पु¥याई सिन्धुपाल्चोकलाई वाईफाई फ्री जिल्लाको रुपमा घोषणा गर्ने योजना बनाएको छु ।
४. विभिन्न समयमा आएको बाढि पहिरोले मेलम्ची, हेलम्बु, पाँचपोखरी, इन्द्रावति र चौतारासाँगाचोकगढी लगायतका विभिन्न क्षेत्रहरुमा पु¥याएको क्षतीलाई मध्यनजर गरी समस्याहरुको समाधानका लागि छुट्टै आयोजना संचालन गर्नुको साथै मेलम्ची, हेलम्बु, र पाँचपोखरी जोड्ने ४ वटा मोटरेवल पुलहरु यथाशीघ्र निर्माण गर्ने तथा स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै आवश्यकता अनुसार झोलुङ्गे पुल र बेलिब्रीज निर्माण गर्ने योजना बनाएको छु ।
५.निर्वाचन क्षेत्र भित्रको स्थानीय आवश्यकता र प्रयोगको विश्लेषण गरि कम्तिमा १५ वटा लामा दुरिका सडकहरुलाई बहुबर्षिय योजनामा समावेश गरि निर्माण गराउने योजना बनाएको छु ।
निर्वाचन क्षेत्रको मुटुमा रहेको मेलम्ची अस्पताल म आफैँ स्वास्थ्य राज्यमन्त्री हुँदा बजेट व्यवस्थापन गरी निर्माण गरेको कुरा सर्वविदितै छ । यस मेलम्ची अस्पताल, हेलम्बु, चौतारा, इन्द्रावतीमा रहेका अस्पताल लगायतनिर्वाचन क्षेत्र भरिका स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती गर्ने, सिन्धुभ्याली प्रादेशिक अस्पताल निर्माणमा आवश्यक सहयोग गर्ने लगायत आवश्यकता अनुसार स्वास्थ्य सम्बन्धी नयाँ योजनाहरु थप गर्ने योजना बनाएको छु ।
६. मेलम्ची, हेलम्बु, पाँचपोखरी, ईन्द्रावती र चौतारा साँगाचोकगढीका विभिन्न ठाउँहरुमा नदि कटानमा परेका बस्तीहरु र खेतीयोग्य जमिनहरुको जगेर्ना गर्न छुट्टै आयोजना खडा गरी उचित तटबन्धको व्यवस्था गर्दै मानव बस्ती, कृषियोग्य जमिन, सडक लगायत अन्य भौतिक पूर्वाधारहरुको जगेर्ना गर्नुको साथै जनस्तरको आवश्यकता र माग बमोजिमका कार्यहरु सम्पादन गर्ने योजना बनाएको छु ।
७.मेलम्ची नजिकबाट इन्द्रावती नदी फर्काएर चौताराको तल्लो भू–भागसम्मका लाखौं रोपनी जमिनलाई सिंचित गर्दै सिन्धुपाल्चोक जिल्लालाई खाद्यान्न भण्डारको रुपमा क्रमशः विकास गर्ने उद्देश्य अनुरुप एउटा बृहत् सिंचाई आयोजना सन्चालन गर्ने र सिन्धुभ्याली सिंचाई आयोजना लगायत स्थानीय आवश्यकता अनुसार अन्य साना ठुला सिंचाई योजनहरुका लागि बजेटको व्यवस्थापन गर्ने योजना बनाएको छु ।
८. विद्युतिकरण गर्न बाँकी रहेका ठाउँहरुमा दुई वर्षभित्रमा विद्युतिकरणको कार्य सम्पन्न गर्ने र काठेपोल विस्तापनको कार्य गर्ने योजना बनाएको छु ।
९.राष्ट्रिय अन्तराष्ट्रिय चासोको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको कार्य सम्पन्न गराई काठमाडौँमा रहेको खानेपानी अभावको समस्या समाधान गर्न सहयोग गर्ने र उक्त आयोजनाबाट प्राप्त हुने रोयल्टीको निश्चित प्रतिशत सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ को विकास निर्माण कार्यमा विनियोजन गराई जनस्तरको अधिकार स्थापित गर्नको निमित्त जिम्मेवारी वहन गर्ने योजना बनाएको छु ।
१०.स्थानीय आवश्यकताअनुसार बृहत् खानेपानी आयोजनाहरुको लागि बजेट व्यवस्थापन गर्ने योजना बनाएको छु ।
११.युवा स्वरोजगार तथा खेलकुदको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने र युवा मैत्री गतिबिधिहरुलाई आवश्यकता अनुसार सहयोग गर्ने योजना बनाएको छु ।
१२.महिला उद्यमशीलता तथा महिला सशक्तिकरणको क्षेत्रमा विविध कार्यक्रम सन्चालन गर्ने र महिला समूह तथा आमा समुहहरुलाई आवश्यकता अनुसार सहयोग गर्ने योजना बनाएको छु ।
१३.बालबालिकाहरुको स्वास्थ्य, शिक्षा लगायत पोषणसम्बन्धि विविध कार्यक्रम संचालन गर्ने योजना बनाएको छु ।
१४.वृद्ध–वृद्दाहरुको सहयोगका निमित्त उचित कार्यक्रम संचालन गर्ने योजना बनाएको छु ।
१५. अशक्त, अपांग र असाहयहरुको लागि आवश्यक सहयोग गर्ने योजना बनाएको छु ।
१६.व्यवसायीक पशुपालनका निमित्त विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने तथा उत्पादित उत्पादनलाई बजारीकरण गर्ने र पशुपालनको क्षेत्रमा कार्य गर्ने सहकारी संस्थाहरुलाई आवश्यक सहयोग गर्ने योजना बनाएको छु ।
१७.सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ पर्यटन प्रबद्र्धनका हिसाबले प्रचुर सम्भावना भएको क्षेत्र हो । यस क्षेत्रमा रहेका तपचुली, गुफाडाडा, हेलम्बु, पाँचपोखरी लगायतका विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटन प्रवद्र्धनका लागि पर्यटन मार्ग, पार्क, होमस्टे विकास लगायत विभिन्न पुर्वाधार निर्माणमा बजेट व्यवस्थापन गर्नुको साथै आवश्यकता अनुसार सहयोग गर्ने योजना बनाएको छु ।
१८.धार्मिक, ऐतिहासिक तथा पुरातात्विक (गुम्बा, मठमन्दिर, स्तुपा, चैत्य आदि) धरोहरहरुको निर्माण तथा संरक्षणका लागि आवश्यक कार्य गर्ने योजना बनाएको छु ।
१९.जडिबुटीको भण्डारको रुपमा परिचित सिन्धुपाल्चोक जिल्लामा जडिबुटी खेतीको सम्भाव्यता अध्ययन गराई जडिबुटी खेतीको लागि प्रोत्साहन गर्ने, जडिबुटिहरुलाई प्रशोधन र बजारीकरण गर्न सहयोगी भुमिका खेल्ने
योजना बनाएको छु । यतिमात्र नभई तपाईं आदरणीय मतदाता ज्युहरुले मन, मत र भरोसा प्रदान गरि निर्वाचित गराउनु भए पछि राज्यका जुनसुकै निति निर्माण तह देखि राष्ट्रिय रुपमा तपाईंहरुका मतका खातिर प्राप्त जुनसुकै जिम्मेवारीहरु तपाईंहरुलाई गर्व गर्न लायक ढंगले मन, वचन र कर्मले पूरा गर्ने प्रण गर्दछु । साथै, सदाका दिनहरुमा झैं तपाईंहरुका आपत्ति र विपत्तिहरुमा तपाईंहरुसंगै रहने छु ।
अन्तमाः माथी उल्लेखित कार्यहरु मात्र नभई बाँकी स–साना, मझौला र केही ठूला योजनाहरु जिल्लादेखि वडासम्मका लोकतान्त्रिक बाम गठबन्धनभित्रका साथीहरुसँग समन्वय गरी उहाँहरुको सुझाव, स्थानीय आवश्यकता, प्राकृतिक परिस्थिति, जनसमुदायको माग बमोजिम सिन्धुपाल्चोकका आदरणीय दाजुभाई दिदिबहिनीहरुको हरेक सुख दुःखमा सदैव समर्पित हुने प्रतिवद्धता जाहेर गर्दछु ।
दुई दुई पटक चुनाव जितेर मन्त्री बनी सक्नुभएका शेर बहादुर तामाङसँग प्रतिस्पर्धा गरिरहनु भएको छ के सहज होला त ?
तपाई कुन दुनियाँमा हुनुहुन्छ अहिले धेरै नागरिक शिक्षित भइसकेका छन । झुटो बोल्ने अवस्था छैन हामिसँग झुटो बोल्ने साथी पनी छैन युवराज दुलाल पनी गफ भन्दा काममा बिश्वास गर्ने मानिस हो अर्का उम्मेदवार कृष्ण कुमार समिर पनी काममा मात्रै बिश्वास राख्ने ब्यक्ती भएकाले हामीसँग प्रतिस्पर्धा गर्ने नेता नै यो क्षे्त्रमा छैन ।
हामी जे बोल्छौ त्यो काम गर्छाै नसक्ने काम गर्छाे भन्दैनौ चिल्ला कुरा गरेर नेता बन्ने दिन गए अब जनताको काम गर अनी नेता बन भन्ने दिन आए दश बर्ष सम्म निर्वाचित भएका माननियले के गरे जनताको प्रश्नको जबाफ छैन । हामीले नागरिकको दुख सुखमा साथ दिएका छौ त्यसैले जनताका काममा खटिनेर्लाइ जनताले बिश्वास गर्ने छन ।
हामी जे बोल्छौ त्यही काम गर्छाै । आगमी मंसिर ४ पछि यो देशमा वाम लोकतान्त्रिक गठबन्धनको सरकार बन्छ ।
सरकार बनिसकेपछि हिजोका कमी कमजोरीहरुलाई हटाएर जनतालाई भाषण होइन विकासको अनुभूति दिने काम हुन्छ ।
सबै क्षेत्रमा सरकारले महत्त्वपूर्ण काम गर्नेछ त्यसैले हामीलाई सहज छ ।
अन्तमा केही भन्नु छ की ?
म खासगरी गफ गर्नु भन्दा पनी काम गर्ने मानिस हो मलाई काम मन पर्छ हरेक नागरिकको दुख पिडाको घाउमा मलम लगाउँन मन पर्छ सँधै नागरिकको सेवा गर्नका लागी उच्च पदमा रहन पर्ने भएकाले पनी मलाई त्यस क्षेत्रमा पुर्याउँन यस क्षेत्रका नागरिकले महत्वपुर्ण भुमिका खेलेर म मोहन बहादुर बस्नेत लगायत गठबन्धनका उम्मेदवारहरुलाई मत दिएर जिताउँनु हुनेछ भन्ने बिश्वासका साथ जिल्लाको ६ वटै सिटमा र देशैभरी गठबन्धनको उम्मेदवारलाई अत्याधिक बहुमतले बिजय गराउँन हुन सम्पुर्ण मतदाताहरुमा बिनम्र अनुरोध गर्दछु ।
साथै मेरा केही भनाइहरु राख्ने मौका दिनु भएकोमा लोकप्रिय समाचार दैनिकलाई बिशेष धन्यबाद दिन चाहान्छु ।
