सम्पर्क

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

आधारभूत तहमा अध्ययनरत बालकहरु हरेक दिन कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाएर बस्दा समाधानका लागि शिक्षकहरुले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो ।
कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकहरुले अहिले भने विद्यार्थीको यो रोगबाट उन्मुक्ति पाएका छन् । प्रदेश नं. ३ सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयन गरेपछि नर्सको परामर्शका कारण समस्याबाट मुक्ति मिलेको हो । ‘विद्यार्थीहरु झुम्म भएर एकोहोरो हुने गर्दथे,’ कार्यक्रम अन्तर्गत विद्यालयमा खटिएकी विद्यालय नर्स शोभा गिरीले भन्नुभयो ‘उनीहरुको अवस्था र रोगको प्रकृतिबारे परामर्श गर्दा विद्यार्थीहरुले मदिरा सेवन गर्ने गरेको भेटियो ।’
समस्या समाधानका लागि विद्यालय नर्स गिरीले विद्यार्थीको मनोभावना बुझ्नुभयो । अनि आफूलाई के के हुन्छ भनेर पनि सोध्नुभयो । विद्यार्थीको जवाफ अनुसार मदिरा सेवन गर्ने गरेको पाइएपछि त्यसको रोकथामका लागि परामर्श दिएको गिरीको भनाई छ । ‘यहाँको संस्कृति नै यस्तै रहेछ, बाबु आमाहरुले नै मदिरा खुवाउने गरेको पाइयो,’ उहाँले भन्नुभयो, ‘समस्या सुल्झाउनका लागि कक्षा कक्षाका मदिरा सेवन गर्दा हुने बेफाइदाबारे चेतना प्रवाह गर्दै स्वास्थ्य शिक्षा प्रदान गरेपछि अहिले यो समस्या रोकिएको छ ।’ स्वास्थ्य शिक्षापछि विद्यार्थीहरु अहिले ढाँट्दैनन् । उनले अहिले विद्यार्थीहरुमा यस्तो नदेखिएको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रम लागू भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौति मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ । ‘आठ÷नौ कक्षा पढ्दै गर्दा यहाँका बालबालिकाहरु विाह बन्धनमा बाँधिने गरेका थिए,’ भीमेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, ‘विद्यालय नर्सले सानै उमेरमा विवाह र बच्चा पाएपछिको समस्याबारे परामर्श दिएपछि अहिले रोकिएको छ ।’ पछिल्लो वर्ष दिनमा यहाँका कुनै पनि बालबालिकाले विवाह नगरेको उहाँले बताउनुभयो ।
यहाँका बालबालिका विशेष गरी अनुत्तीर्ण भएपछि सिधै विवाह गर्ने गरेका थिए । उनुत्तीर्ण भएपछि साथीले हेप्ने, आफूलाई लाज हुने हुँदा विवाह गरेर जाने गरेका हुन् । विद्यालयमा नर्स कार्यक्रमपछि प्रजनन स्वास्थ्य, सरसफाई बारे चेतना जगाएपछि बालबालिकाले सानै उमेरमा विवाह गर्ने सोच बिर्सदैं गएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । यो गाउँमा वर्षदिनमा आठ÷दश बालिकाले उमेर नपुगी विवाह गर्ने गर्दथे । पछिल्लो वर्ष सानै उमेरमा विवाह गरेको भन्ने नसुनिएको र सबै बालिका विद्यालयमा नियमित भएको उहाँले जानकारी दिनुभयो ।
भीमेश्वरीमा मासिक हरेक कक्षामा स्वास्थ्य शिक्षा दिइन्छ । विद्यालयमा यो कार्यक्रम लागू भएयता स्वास्थ्यबारे बालबालिका सचेतसमेत भएका छन् । ‘अहिले विद्यालयको चौरलगायत कक्षाकोठा हामी नियमित सरसफाई गर्छाै,’ कक्षा १० मा अध्ययनरत अञ्जना दनुवारले भन्नभयोु, ‘पहिला स्वास्थ्यलाई हामीले हेलचेक्राईं गरेका रहेछौं, बल्ल स्वास्थ्यप्रति सचेत भएका छौं ।’ उहाँले विद्यालयमा नर्स आएपछि आफूले उपचार पाएको बताउनुभयो । ‘कक्षामा पढ्दापढ्दै खुट्टा दुख्ने, पेट दुख्ने हुन थाल्यो,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य कक्षमा गएर उपचार गराएपछि फेरि कक्षामा फर्कन सकें ।’ नर्स शोभाका अनुसार अञ्जनालाई सामान्य उपचारका साथै हट वाटर ब्यागले पेटमा सेकाएपछि केही समय आराम गरेर कक्षाकोठामा फर्कन सक्ने बनाइएको हो । यसअघि यस्ता समस्या हँुदा बीचमै पढाई छाडेर घर जाने गरेको अञ्जना बताउँनुहुन्छ ।
यो साता कक्षा ५ मा अध्ययनरत अनिशा दनुवारलाई कक्षा ३ मा अध्ययनरत एक विद्यार्थीले रडले हानेर टाउकोमा दुई ठाउँ घाउसमेत बनाइदिए । कक्षाकोठामा रगत बग्यो । तत्काल नर्स पुगेर रगत थमाइएपछि स्वास्थ्य कक्षमा ल्याई उपचार गरिएको थियो । ‘रगत धेरै बगेको थियो, रोक्न निकै गाह्रो भयो,’ नर्स शोभाका अनुसार ‘पछि सफा गरेर ड्रेसिङ गराएँ अनि केही समय आराम गराएर पुनः कक्षाकोठामा फर्काइयो ।’ विद्यालयमा नर्स कार्यक्रम नभएको भए उहाँलाई अस्पताल या स्वास्थ्य चौकी लैजानुपर्ने शोभा बताउँनुहुन्छ ।
भीमेश्वरीको स्वास्थ्य कक्षमा विरामीका लागि दुई वटा बेड छ । प्रदेश सरकारले उपलब्ध गराएको औषधिहरु केही सकिएपछि नजिक रहेको हेल्थपोष्टबाट पनि ल्याइएको थियो । औषधिको भण्डारण सुरक्षित दराजमा गरिएकाले विग्रन सक्ने अवस्था छैन । गर्मी ठाउँ भएकाले दैनिक २० जनासम्म बालबालिकालाई उपचार गराइएको नर्सको भनाई छ । कार्यक्रम लागू भएयता हालसम्म नौ सय ४७ ले उपचार गराइसकेका छन् । ‘गर्मीमा अलि बढी समस्या हुन्छ,’ विद्यालय नर्स गिरीले भन्नुभयो ‘डायरिया हुने, टाउको दुख्ने ब्लडप्रेसरमा समस्या आउने गर्दछ ।’ उहाँकाअनुसार छात्राहहरुको महिनावारी हुने बेलाको समस्या प्रमुख छ । पहिले छात्राहरु महिनावारी भएको बेला विद्यालय आउने गर्दैनथे । अरुले गिज्याउने र आफैलाई पनि लाज हुने हुँदा छात्राहरु हप्ता दिनसम्म विद्यालय अनुपस्थित हुन्थे । अहिले महिनावारी भएको खण्डमा सेनिटरी प्याडको विद्यालयमै व्यवस्था भएपछि यो समस्या हटेको प्रधानाध्यापक कृष्णप्रसाद बताउँनुहुन्छ । ‘चेञ्ज गर्नका लागि शौचालयमा आवश्यक सामग्रीसहितको व्यवस्था गरिएको छ,’ उहाँले भन्नुभयो ‘पहिला यस्तो व्यवस्था नभएकै कारण छात्राहरुमा विद्यालय छाड्ने क्रमसमेत रहेको थियो ।’ महिनावारीका बेला हुने समस्या समाधान भएकै कारण छात्राहरुमा शतप्रतिशत ड्रपआउट समस्या रोकिएको उहाँले दाबी गर्नुभयो ।
विद्यालयमा नर्स कार्यक्रमपछि जंक फुड रोकिएको छ । व्यक्तिगत र विद्यालयमा भएको सरसफाईले फड्को मारेको छ । ५ सय ५० विद्यार्थी संख्या रहेको यो विद्यालयमा पहिला सामान्य पेट दुख्दासमेत विद्यार्थी घर जानुपर्ने अबस्था थियो । गएको मंसिरबाट कार्यक्रम लागू भएपछि विद्यालयमा हुने उपचार यही उपलब्ध भएपछि यो समस्या हल भएको छ । छात्राहरुमा खुलेर भन्न सक्ने बानीकोसमेत विकास भएको प्रधानाध्यापक श्रेष्ठ बताउँनुहुन्छ । ‘नर्स भएपछि बालबालिकाले अभिभावक पाएको अनुभूति गरेका छन् ।’ उहाँले भन्नुभयो । रासस