सम्पर्क

कात्तिक १७ देखि आमसभा गर्न मिल्ने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य आसन्न निर्वाचनमा नजिकिदै जादा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ । आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ ।