सम्पर्क

किसानलाई धान भित्राउने चटारो

सिन्धुपाल्चोकका किसानलाई यतिबेला किसानलाई मंसिरे धान भित्र्याउने चटारो छ । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकले बताएका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली रहेको छ । धान बेचेर नै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका छन् । धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्न थालेको अर्का किसान सिता आचार्य बताउँछन् । ‘खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर ट्रयाक्टर, धान काट्ने र झार्ने काममा आधुनिक मेशिनको प्रयोग बढ्दा निकै सहज भएको छ’ आचार्यले, ‘समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।’ मानो छरेर मुरी भित्र्याउने समय भएकाले निर्वाचनको चहलपहललाई बेवास्ता गर्दै र सबै काम छाडेर पाकेको धानबाली भित्र्याउन जुटेको ईन्द्रावती गाउँपालिका १२ भिमटारका राधे दनुवारले वताउनुभयो । उहाँले भन्नुभयोे “गत वर्ष वर्षातले सबै बाली सखाप पारेको थियो फेरि पनि वर्षा हुन्छ भन्ने डरले धानबाली भित्र्याउन बिहानदेखि बेलुकीसम्म खटिनु परेको छ । जिल्लाको ईन्द्रावती, मेलम्ची हेलम्बुलगायतका क्षेत्रमा धान बालीको उत्पादन अन्य क्षेत्रको भन्दा बढी हुने गरेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन् ।