सम्पर्क

मेलम्चीमा अनलाईनबाटै योजना सम्झौता

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाईन शिष्टमबाट सम्झौता प्रक्रिया थालनी गरेको छ । नगरपालिकाले उपभोक्ता मार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरुवात भएपछि अनलाईन विधिबाट सुरुवात गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले जानकारी दिनुभयो । उहाँका अनुसार २० लाख भन्दा मुनिका योजनाहरुको उपभोक्ता मार्फत अनलाईन शिष्टमबाट सम्झौता गरिएको हो ।

‘उपभोक्ता मार्फत गरिने योजनाहरुको पारदर्शिता कायम गर्नका लागि सबै योजनाहरु अनलाईन मार्फत सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको नगरप्रमुख आईतमान तामाङले बताउनुभयो । उहाँका अनुसार सबै वडाहरुमा यो प्रक्रिया थालिएको छ । १० लाख भन्दा माथिका योजनाहरुमा उपभोक्ताले अनिवार्य प्यान दर्ता गर्नु पर्ने प्रावधान समेत राखिएको तामाङले बताउनुभयो । नगरपालिकाले १३ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिसकेको छ ।

कार्तिक मसान्तभित्र सबै योजनाहरुको सम्झौता गरिसक्ने योजना बनाएको नगरपालिकाले असोजको मसान्त सम्म ५० प्रतिशत र तिहार अगाडि ९० प्रतिशत योजना सम्झौता गरिसक्ने उपप्रमुख उमा प्रधानले बताउनुभयो । उहाँका अनुसार अनलाईनबाट सम्झौता गर्दा पारदर्शी हुने र आवश्यक डकुमेन्टहरु अनलाईनको शिष्टमले नै क्रेट गर्ने छ । यसले योजनाको रेकर्डिङ देखि अनुगमनको कुराहरु पनि सजिलो हुने भएकोले नगरपालिकाले त्यो शिष्टमलाई फलो गरेको बताउनुभयो ।
रासस