नेपाल सरकारले विपत्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ पारित गरेको छ । आ–आफ्नो ठाउँबाट प्रभावकारी रूपमा काम गर्नुपर्ने मान्यताका साथ प्रतिकार्य राष्ट्रिय योजना निर्माण गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो । सो कार्ययोजनामा प्राकृतिक विपत्बाट बच्नका लागि सबै सरोकारवाला मन्त्रालय, प्रदेश तथा स्थानीय तहको भूमिका तथा जिम्मेवारी निर्धारण गरिएको छ । उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सातवटै प्रदेशमा सजग गराइएको छ भने प्राकृतिक विपत्का घटना भएमा नेपाली सेनाको हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ ।
