सिन्धुपाल्चोक चौतारामा नेकपा माओवादी केन्द्रका दुई पक्षबीचको झडप भएको छ । जिल्लाका शीर्षस्थ नेताहरुमाथि नै आक्रमण भएपश्चात सुरक्षास्थिति नियन्त्रणमा लिन सेना सडकमा निस्किएको हो । टिकट पाउने र नपाउने पक्षबीच विवाद उत्पन्न भई माओवादी आधार इलाका मानिने साँगाचोकगढी चौतारा नगरपालिकाको मेयरमा बहालवाला मेयर अमानसिंह तामाङलाई नदिई सापकोटालाई दिइएको भन्दै कार्यकर्ता आक्रोशित थिए । तामाङले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । तर झडपको कारण भने वडा नम्बर १ र १४ को वडाध्यक्ष ३० मत पनि नभएको नेकपा एसलाई दिइएको भन्दै माओवादीकै दुई पक्षबीच कुटाकुटबाट शुरु भएको हो । नगरपालिका कार्यालय तोडफोडपछि मनोनयन रोकिएका बेला माओवादीका नेताहरुलाई सुरक्षा दिएर राखिएकै ठाउँमा आक्रमण भएको थियो । झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ । झडपले चर्काे रुप लिएको हल्ला बाहिरिएपछि नियन्त्रणमा लिन सशस्त्र प्रहरीले २ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।
