नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बैसाख ३० गते हुने स्थानीय निर्वाचनमा पाँचदलबीच गठबन्धन नहुने संकेत गरेका छन् । उहाँले चुनावी तालमेलको विषयमा बहस भैरहेको तर समझदारी भैनसकेको भन्दै एक्लाएक्लै चुनावमा जानुपर्ने बताउनुभयो । नयाँ वर्षको अवसरमा शनिबार आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै उहाँले आफू लगायत केहीको धारणा एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा रहेको बताउँनुभयो । ‘म लगायत केही साथीहरुको धारणा, बरु केही समय क्षति बेहोर्नुपरे पनि बेहोरौँला । तर, नेपाली कांग्रेसले एक्लै लड्नुपर्छ भन्ने धारणा रह्यो’, उहाँले भन्नुभयोे । पार्टीका अन्य नेताहरुले भने कांग्रेस एक्लै आफ्नो तागतमा निर्वाचन लड्न सक्ने र लड्दै आएको भएपनि कम्युनिस्ट पार्टीहरुका कारणले तालमेल गर्नुपर्ने बताएको थापाको भनाइ छ । ‘नेपालका कम्युनिस्ट पार्टीहरुको बीचमा चुनावी तालमेल हुने र त्यस्तै मौका पर्दै गर्दा पार्टी नै एक बनाइदिने कुरा हामीले देख्यौँ । त्यसैले हामीले तालमेल गरेनौँ भने कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आएर तालमेल गर्न सक्छन् । त्यसैले त्यसलाई रोक्न पनि तालमेल गर्नुपर्छ भन्ने केही साथीहरुको धारणा रह्यो’, थापाले भन्नुभयो । पार्टीले तालमेल गर्ने निर्णय गरेको भए पनि त्यसको अधिकार तल्ला समितिहरुलाई भएको उहाँको भनाइ छ । पार्टीको निर्णयमै ‘तालमेल गर्न सक्ने’ भनिएकाले तालमेल गर्न पनि सक्ने, नगर्न पनि सक्ने उहाँको भनाइ छ । ‘तालमेल गर्न पनि पाउने, नगर्न पनि पाउने । यसको निर्णय माथिकाले गर्ने होइन, यसको निर्णय तलको समितिले गर्ने’, उहाँले भन्नुभयोे ।
थापाले पार्टीको निर्णयको बारेमा कोही अलमलिनु नपर्ने बताउनुभयो । तालमेल गर्न वा नगर्न पाउने भएकाले तालमेलका लागि कसैले लाद्न नपाउने उहाँको भनाइ छ ।
