नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले प्रेस युनियन–राम केसी अग्रज पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । शनिबार सिन्धुपाल्चोकको चौतारामा गरिएको श्रद्धाञ्जली सभामा यस्तो घोषणा गरिएको हो । यसअघि युनियनले सिन्धु अग्रज पत्रकारिता प्रदान गर्दै आएको थियो । त्यसैलाई परिमार्जन गरि केसीको सम्मानमा नयाँ नामबाट पुरस्कार दिईने युनियनकी सचिव कमला पाख्रनिले जानकारी दिनुभयो । केसी रासस र नेपाल समाचारपत्रमा आबद्ध हुनुहुन्थ्यो । उहाँ प्रेस युनियनका केन्द्रीय पार्षद हुन् । १० औँ दिनको पुण्य तिथिमा उहाँको व्यक्तित्वबारे पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापतिद्वय सुदर्शन आचार्य, ऋषिराम पौड्याल, साहित्यकार अमित घिमिरे, महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति टंक कार्की, पुुर्व सचिव बिलबहादुर तामाङ लगायतले चर्चा गर्नुभएको थियो । ५१ सालबाट पत्रकारिता सुरू गरेका केसीका एक गीति संग्रह र एक कथा संग्रह प्रकाशित छ । दमको रोगबाट ग्रसित उहाँको उपचारका क्रममा केएमसी अस्पतालमा निधन भएको थियो । उहाँका एक श्रीमती, एक छोरा र ४ छोरी हुनुहुन्छ ।
