विपना तामाङ (गोले)


१२२ औं अन्तराष्ट्रीय नारी दिवसको अवसरमा “समाज विकासमा महिलाको भूमिका ”विषयक अन्तर्क्रिया कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ ईर्खुमा सम्पन्न भएको छ ।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीबाट सँगठित मानव वेचविखन विरुद्धको पैरवी समूह सिन्धुपाल्चोकद्धारा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी अधिकाँश बक्ताहरुले अझै पनि राज्यका निकाय तथा सामाजिक संघ संस्थाहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता नभएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी तिर्थवहादुर श्रेष्ठले महिलालाई अधिकार कसैले टिका लगाएर दिने नभई अधिकार खोसेर लिन सक्नुपर्ने धारणा राख्नुभयो । श्रेष्ठले महिला अधिकारका लागी घरबाटै लड्न आबश्यक रहेको बताउनुभयो ।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीको उपकार्यकारी निर्देशक तथा विशेष अतिथी सविता बस्नेतले महिलाहरुले अबसर पाएनन् भने अगाढी बढ्न नसक्ने बताउँदै महिलाहरुलाई भूमिका निर्वाह गर्न लायक बनाउने जिम्मा समाजको रहेको बताउनुभयो ।
मानव वेचविखन विरुद्धको पैरवी समूहको सदस्य आशा तामाङले महिलाहरुले सँविधानमा उल्लेख भएका सवै अधिकार प्राप्त नभएको र अधिकार प्राप्तिका लागी हामी आफै जुट्न आबश्यक रहेको बताउनुभयो ।
त्यसैगरी अनेमसँघ क्रान्तीकारी महिला सँगठनको जिल्ला सदस्य सृजना विकले हरेक चुनौतिको सामना गर्दै अगाडी बढेर महिला हिंसा न्यूनिकरण गर्न घरबाटै सुरु गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीबाट सँगठित मानव वेचविखन विरुद्धको पैरवी समूहका किशोरीहरु, राजनितिक दलका प्रतिनिधी , ज्ञानमन्दिर नमुना माविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रामकृष्ण दँगाल, सहायक प्रधानाध्यापक यज्ञ दँगाल, सुरक्षाकर्मी , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
