सगुन बस्नेत ,सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा कर्मचारीहरुको अन्तरमूल्यांकन गर्ने नयाँ आयामको शुरुवात भएको छ ।
सो पालिकाले पालिका भरीका सवै विद्यालयका कर्मचारी , प्र.अ. तथा शिक्षक , वडामा रहेका वडा कार्यालय तथा सवै सरकारी निकायमा कार्यरत कर्मचारी र गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरु सम्वन्धित निकायमा कार्यरत सवैले सवैको मूल्यांकन गरी त्यसबाट उत्कृष्ट ठहरिने कर्मचारीलाई पुरस्कृत गर्ने प्रयोजनको लागि शिक्षक तथा कर्मचारी पुरस्कृत गर्ने मापदण्ड निर्माण गरी मूल्यांकको कार्य प्रारम्भ गरेको छ । यस क्रममा मूल्यांकनबाट पुरस्कृत हुनको लागि कम्तीमा दुई देखि तीन चरणबाट उत्कृष्ट ठहरिनु पर्ने हुन्छ । फागुन १६ गते गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश कुमार पोखरेलले आफू मातहतका कार्यालय सहयोगी समेत सवै कर्मचारीहरुबाट गत आ.व. को अन्तिम सम्ममा कार्यरत रहेका र यो मूल्यांकनमा सहभागी भएका कर्मचारीसवैले सवैको लागि आ.व. २०७७÷०७८ लाई आधार वर्ष मानेर मूल्यांकन एक आपसमा गराउँनु भएको थियो । यसरी कानून बनाएर , औपचारीक र संस्थागत रुपमा सरकारी निकायमा आफूमातहतका कार्यालय सहयोगी समेतका कर्मचारीबाट कार्यालय प्रमुखको मूल्यांकन गराउँने सन्दर्भमा सम्भवत पाँचपोखरी थाङ्गपाल गाउँपालिका नेपालमा नै पहिलो हुन सक्ने कुरा निमित्त प्रमुख प्रशासकीय अधिकृतले सो अबशरमा वताउँनु भयो । यो मापदण्ड बमोजिम मूल्यांकन गर्दा कसले कसलाई कति अंक दियो भन्ने कुरा थाहा नपाउने र ढुक्कले सवैले सवैको मूल्यांकन गर्न पाउने अवस्था रहेको र सम्भवत औपचारिक रुपमा आफू मातहतका कार्यालय सहयोगी समेतका कर्मचारीबाट कार्यालय प्रमुखको मूल्यांकन गराउने सार्वजनिक निकायको नेपालमा पहिलो कार्यालय प्रमुख हुन सक्ने कुरा दिनेश कुमार पोखरेले बताउँनु भयो । सो कार्यक्रममा सहभागी भएका कर्मचारीहरुले गाउँपालीकामा यस्तो कार्य गरेकोमा खुशी लागेको बताएका छन ।
