सम्पर्क

तातोपानीमा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम


भोटेकोशी गाउँपालिका वडा नम्बर २ को तातोपानी आधारभूत विद्यालयमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा बुधवार वडा नम्बर २ र ३ को सँयुक्त रुपमा भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले उद्धघाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले महिला विरुद्धको हिंसा संरचनात्मक विभेदको परिणाम भएको बताउनुभयो । उहाँले यस विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पितृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य गरिनु अपरिहार्य रहेको बताउनुभयो । लैङ्गिक समानता, महिलाको आफ्नो शरिमाथिको निर्णय र अधिकारको सुनिश्चितता नहुँदासम्म महिलाहरू स्वतन्त्र र मर्यादित भएर आफ्नो जीवनयापन गर्नबाट वञ्चित रहने बताउँदै उपाध्यक्ष शेर्पाले संवैधानिक र कानुनी रूपमा जे जस्ता व्यवस्थाहरू उल्लेखित भएता पनि व्यवहारमा पुर्णत कार्यान्वयन, समाजमा सचेतना र राज्यले उल्लँघनमा कठोर दण्डको रणनीति नलिँदासम्म कुनै औचित्य नरहने बताउनुभयो ।
उपाध्यक्ष तथा प्रमुख अतिथी शेर्पाले वर्तमान समयमा गृहिणी महिला सँगै कामकाजी महिला दोहोरो हिंसाको सिकार बन्दै गई रहेको बताउँद कामसँगै परिवार र समाजको जिम्मेवारी निर्वाह गरिरहँदा समेत अनेक उल्झन र तिखा वाणीहरूले हरक्षण अपमानित र तिरस्कृत हुनुको वेदना छुट्टै रहेको बताउनुभयो । उहाँले यस तर्फ पनि अबको अभियान ध्यान केन्द्रित हुनु जरुरी रहेको बताउनुभयो ।
त्यसैगरी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख देवी काफ्लेले लैङ्गिक हिंसा विरुद्धको अभियानमा प्रत्येक घर घरका सदस्य सचेत भएर परिवर्तन घरबाटै सुरु हुनुपर्ने बताउनुभयो । महिला होस् वा पुरुष आफ्नो मन र मस्तिष्कमा उब्जने कुनैपनि प्रकारको हिंसात्मक गतिविधि र सोचमा सकारात्मक परिवर्तन ल्याउनसके मात्रै लैंगिक हिंसा अन्त्य हुने बिषयको समेत उहाँले चर्चा गर्नुभयो ।
त्यसक्रममा आदीवासी जनजाती महिला महासँघ सिन्धुपाल्चोकको अध्यक्ष पानमाया तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी प्रहरी निरीक्षक नवराज सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम गाउँपालिकाको प्रत्येक वडामा सँचालन हुनेछ ।
कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेविका , आमा समूहका प्रतिनिधी संघसंस्थाका प्रतिनिधि, गाउँपालिकाको कर्मचारी लगायतको सहभागीता रहेको थियो । भोटेकोशी गाउँपालिका वडा नं. ३ को महिला सदस्य निर्मला पौडेलको सभापतित्वमा भएको कार्यक्रम लोकप्रिय नेत्रज्योती सञ्चार समूहका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेतले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको समापान गदै कार्यक्रमको सभापति तथा भोटेकोशी गाउँपालिका वडा नं. ३ को महिला सदस्य निर्मला पौडेलले अबसर पाए महिलाहरु पनि हरेक क्षेत्रमा अगाडी वढ्न सक्षम रहेको धारणा ब्यक्त गर्नुभयो । उहाँले हाम्रो धर्म, संस्कृति,रीतिरिवाजले पनि कत्तिपय ठाँउमा महिला हिंसा हुने गरेको बताउँदै यसको अन्त्यको लागि जनचेतना फैलाउँदै महिलालाई दक्ष र सक्षम बनाउन सबै लागे हिंसाका घटनामा न्युनिकरण गर्न सकिने धारणा राख्नुभयो ।
लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम भोली भोटेकोशी गाएापालिकाको वडा नम्बर ५ मा हुँदैछ ।