इन्द्रावती गाउँपालिका नवलपुरमा नवनिर्मित १५ शैयाको नवलपुर प्राथमिक अस्पताल बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश मन्त्री लामाले अबको समय जनताको स्वास्थ्य अबस्थामा सुधार ल्याउनकै लागी स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
२८ हजारभन्दा बढी जनसंख्या भएको इन्द्रावती–१ देखि १२ सम्मका वडाका स्थानीयले स्वास्थ्य चौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपथ्र्यो । अस्पतालमा एक्सरे, रगत स्वास्थ्य परीक्षणकै लागि चौतारा, धुलिखेल या मेलम्ची धाउनुपर्ने बाध्यताबाट स्थानियले मुक्ती पाएका छन् ।
५ करोड ५१ लाख लगानीमा न्यु ड्रागइन पवित्र मल्टिपल डेभिड कम्पनीले ३ रोपनी क्षेत्रफलमा दुई वर्षमा पक्की भवन बनाएको हो । ३५ कोठा र १५ बेडको अस्पतालमा ३० जना बिरामी राख्ने क्षमता भएको अस्पतालमा अन्य सुविधाजनक सेवा सञ्चालित धुलिखेल अस्पतालझैं डिजाइन गरिएका चिकित्सा, ल्याब कक्ष र तीन वटा महत्वपूर्ण ब्लक राखिएको छ । अस्पतालमा दुई एमबीबीएस डाक्टरसहित चिकित्सक, मेडिकल, एक्स रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसीजीजस्ता सबै अत्यवाश्यक प्राथामिक सेवा सञ्चालनमा ल्याइएको ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो ।
‘यसअघि सामान्य सेवा लिन लामो दुरी पार गरेर चौतारा, मेलम्ची या धुलिखेल, काठमाडौं पुग्नुपर्ने बाध्यता हटाएका छौं, यसले स्थानीय खुसी छन् । यही हाम्रो ठूलो उपलब्धि हो,’ गाउँपालिका राष्ट्रिय महासंघका महासचिव रहेका तामाङले भन्नुभयो । सम्पूर्ण स्थानीय लक्षित १५ शैयाको नवलपुर अस्पताल निर्माण सकिएपछि ८९ लाखमा भृकृटी पार्क, भृकृटीको सालिक र ३२ फिट अग्लो भूकम्प स्मृति पार्कको काम थालिएको उहाँले जानकारी दिनुभयो ।
