सम्पर्क

गृहमन्त्रीद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गर्नुभएको छ ।
गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो ।
करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ । बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेर्होदै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौँलगायतका स्थानमा जान सजिलो भएको छ ।
बाढीले रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालको रूपमा रेहेको अर्थ मन्त्रालयको ९० लाख ५३ हजार रुपैयाँको लागतमा बेलिब्रिजको निर्माणकार्य नेपाली सेनाले जिम्मा लिएको थियो ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अब गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउनुमा बेलिब्रिजले महत्व राख्दछ, बताउँदै पर्यटकको आवतजावतमा समेत वृद्धि हुने अनुमान गर्नुभयो । बाढीपछि हेलम्बु पुरानै अवस्थामा फर्कन नसके पनि सडक सञ्जाल जोड्दै पर्यटकलाई सहज बनाउने काममा सुरुदेखि नै लागिपरेको अध्यक्ष शेर्पाको भनाई छ ।
पुलको बनावट अहिले निकै सरल अनि मजबुद देखिएको बताउदै सेनाका प्राविधिक भीमसेन थापाले पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको ६ वटा वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको २ वटा वडा र मेलम्ची नगरपालिकाको २ वटा वडा सडक सम्पर्कबाट टुटेको थियो ।” अब यातायात आवातजावतमा सकस भएका सडकको सम्पर्क पुनः सहज ढंगले जोडिने थापाले बताउनुभयो ।
पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोतेलगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने भएको छ ।