सम्पर्क

चीनको असहयोगले चिनियाँ सामान भारत हुँदै आयात

चीनले सहज रुपमा सामान आयात गर्न सहयोग नगरेपछि व्यापारीले चीनबाट भारत हुँदै सामान ल्याउन थालेका छन् । चिनियाँ अधिकारीका कारण केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्न कठिन भएको बताइएको छ । ‘चीनबाट भारत हुँदै जहाजबाट सामान ल्याउन ४०/४२ दिन लाग्छ । तातोपानी र केरुङबाट बिना कुनै अवरोध ल्याइए २०/२२  दिनभित्र सामान नेपाल आइपुग्छ । व्यापारीहरू भारत हुँदै सामान आयात गर्न बाध्य छन्,’ डेनमार्कका पूर्वराजदूत विजयकान्त कर्णले भन्नुभयो । उहाँले यसलाई चीनले गरेको आर्थिक नाकाबन्दीको संज्ञा दिनुभएको छ ।
ट्रेड प्रोटोकल अनुसार भूपरिवेष्ठित देशका लागि कुनै पनि देशले समुद्रसम्मको बाटो उपलब्ध गराउनुपर्छ । तर, चीनले प्रोटोकल उल्लँघन गरिरहेको भन्दै उहाँले पछिल्लो समय दुई–तीन ट्रक मात्र नेपाल भित्रिने गरेको बताउनुभयो । तर, अहिले चीनले नेपाली जनताको सहज पहुँचमा बाधा पुर्याएको छ, भने चीनको यो गतिविधिले चीनको अतिवादी मनोवृत्ति झल्काउँछ,’ उहाँले भन्नुभयो ।
चीनतर्फका दुई नाका (तातोपानी–खासा र रसुवागढी–केरुङ) लामो समयदेखि सुचारु नभएको व्यवसायी र स्थानीयले गुनासो गर्दै आएका छन् । कोभिड–१९ सुरु भएपछि बन्द भएका केरुङ र तातोपानी नाका पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन । दैनिक २ सय ५० ट्रक सामान बोकेर नेपाल प्रवेश गर्ने गरे पनि अहिले यी नाकाबाट दैनिक २० वटा मात्रै सवारी साधन नेपाल भित्रिने गरेका छन् ।
रसुवागढी भन्सार कार्यालयका अनुसार रसुवागढी नाकाबाट दैनिक नौ ट्रक र तातोपानी नाकाबाट ११ ट्रक मात्र नेपाल भित्रिने गरेका छन् । नेपाल ट्रान्स हिमालय बोर्डर कमर्स एसोसिएसनका अनुसार चिनियाँ पक्षले नेपाल प्रवेश गर्न नदिँदा सामान बोकेका सयौं ट्रक चीनमा अलपत्र परेका छन् ।
महामारी सुरु भएपछि बन्द केरुङ र तातोपानी नाका पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् । दैनिक २ सय ५० ट्रक सामान बोकेर नेपाल प्रवेश गर्ने गरे पनि अहिले २० वटा मात्रै सवारी साधन नेपाल प्रवेश गर्छन् ।
स्थानीय होटेल व्यवसायी तेन्जिङ तामाङका अनुसार चीनका कारण नेपाली व्यवसायीले समस्या भोग्नुपरेको छ भने ट्रक मालिक पनि मारमा परेका छन् ।
कन्टेनर सञ्चालकले बैंकको ब्याजसमेत तिर्न नसकेको उनीहरु बताउँछन् । ‘चीनबाट दैनिक २०० भन्दा बढी ट्रकहरू आउँथे । अहिले ५ वटाभन्दा बढी ट्रक नेपाल प्रवेश गर्दैनन्,’ यातायात व्यवसायी अर्जुन पौडेलले बताउनुभयो ।
एक हजारदेखि १५ सय ट्रक पालो पर्खिरहेका छन्, चीनले सीमा नाकाबन्दी गरिरह्यो भने एक ट्रक पालो आउन एक वर्ष लाग्ने उहााको भनाइ छ । त्यस्तै, स्थानीय होटल तथा आयात–निर्यात व्यवसायी चेतेन गल्पो लामा भन्नुहुन्छ , ‘पर्यटक आउन छाडेका छन्, पर्यटन गतिविधि पनि न्यून छन् । चीन नाका खोल्न आनाकानी गर्दै आएको छ ।’
नेपालसँग हुने व्यापार निकै सानो भोलुममा भएकाले प्राथमिकतामा नराखेको हो । चीनसँग पारवहन सन्धि गरे पनि चीनको बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सकेको छैन। सरकारले चीनसँग पारबहन सम्झौता गरेको छ । उक्त सम्झौतासँगै चिनियाँ बन्दरगाह र भूमार्ग प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गर्न सकिने बताइए पनि चीनबाट सडकमार्ग हुँदै सामान आयात गर्न नेपाली व्यवसायीलाई कठिन भएको छ ।