सम्पर्क

मेलम्ची खानेपानी मर्मत गर्न ३६ करोड विनियोजन , पुरानै कम्पनीलाई ठेक्का

सरकारले गत असार र साउन महिनामा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना मर्मत गर्न ३६ करोड बजेट विनियोजन गरेको छ ।

क्षतिग्रस्त आयोजना मर्मतका लागि तत्काल अर्थ मन्त्रालयबाट ३६ करोड निकासा गरेको खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल पानी ल्याउन यति बजेट निकासा गरेको हो । ‘आवश्यक परे थप बजेट निकासा गर्ने पनि मन्त्रालयसँग सहमति भएको छ’, उहाँले भन्नुभयो , ‘अहिलेलाई ३६ करोड रुपैयाँ मात्रै छुट्याइएको छ ।’
बाढीले खानेपानीको हेड वकर््समा क्षति पुगेको छ । त्यस्तै सुरुङको करिब २ सय मिटर डाइभर्सन माटोले पुरिएको छ । आयोजनामा बाढीका कारण १ अर्ब रूपैयाँभन्दा बढीको क्षति पुगेको आयोजनाको आकलन छ । आयोजनामा क्षति पुगेको ७ महिनापछि पुरानै कम्पनी चिनियाँ सिनो हाइड्रोलाई मर्मत गर्न ठेक्का दिइएको छ । नयाँ कम्पनीलाई ठेक्का दिँदा धेरै समय लाग्ने भएकाले काठमाडौंमा पानी छिटो ल्याउन सिनोलाई ठेक्का दिएको मन्त्रालयका प्रवक्ता ढकालले बताउनुभयो ।
इटालियन कम्पनी सिएमसीले योजनाको काम नसकिँदै बीचैमा छाडेपछि चीनको सिनो कम्पनीले २०७६ मा आयोजनाको सुरुङमार्गलगायत बाँकी काम पूरा गर्ने ठेक्का पाएको थियो । प्रवक्ता ढकालका अनुसार काम तत्काल थाल्न पनि निर्माण कम्पनीलाई आयोजनाले निर्देशन दिएको छ ।
‘हामीले पनि काम थाल्न निर्देशन दिएका छौँ, अबको २÷३ दिनमा निर्माण कम्पनीले काम थाल्ने छ’, उहाँले भन्नुभयो । उहाँले अहिले निर्माण सामग्री लाने तयारी भइरहेको बताउनुभयो ।
हेलम्बु गाउँपालिकाले उपभोक्ता खटाई सुरुङ जाने अस्थायी बाटो खुलाइसकेको छ । यसअघि बाढीले त्यहाँ जाने बाटो अवरुद्ध गरेको थियो । आयोजना सुरु भएको दुई दशकपछि अर्थात् गत चैत १५ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएको थियो । पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो । आयोजनाले सुरुङ परीक्षण गर्ने भन्दै असार १ देखि सुरुङमा पानी पठाएको थिएन तर सोही दिन बाढीले आयोजनामा क्षति पु¥यायो । मेलम्चीको खानेपानी नआएपछि अहिले उपत्यकाभित्र पुनः पानीको समस्या भएको छ। उपत्यकामा चाहिएको पानीको माग धान्न हम्मेहम्मे परेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार अहिले उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ तर केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले अहिले कुवा, बोरिङलगायत स्रोतबाट दैनिक १०÷११ करोड लिटर पानी मात्र आपूर्ति भएको बताउँनुहुन्छ ।
केयुकेएलका अनुसार करिब २ लाख ग्राहक केयुकेएलका छन्। केयुकेएलका प्रवक्ता राईले अहिले हिउँद भएकाले झनै यी स्रोतको पानी घट्दै गएपछि पानी पु¥याउन समस्या भएको बताउनुभयो । ‘वर्षातका वेला दैनिक १४ करोड लिटरसम्म पानी आपूर्ति हुन्छ’, उहाँले भन्नुभयो , ‘तर अहिले पानी परेको छैन, त्यसैले घट्छ ।’

यता मन्त्रालयका प्रवक्ता ढकाल आगामी वैशाखसम्म मेलम्ची पानी ल्याएर उपत्यकावासीलाई खुवाउने लक्ष्य सरकारको रहेको बताउँनुहुन्छ । ‘कामको प्रारम्भ हुन लागेको छ, अस्थायी रूपमा भए पनि वैशाखसम्म पानी आउँछ’, उहाँले भन्नुभयो ।