सम्पर्क

तातोपानी नाकामा उच्च सतर्कता

नेपालमा कोरोना भाइरसको सँक्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ ।

कोरोना सँक्रमण सुरु भएदेखि नै नेपालको उत्तरी छिमेकी चीनसँगको सीमा प्रायः बन्द अवस्थामा छन् । कोरोना भाइरस सँक्रमण बढ्न थालेपछि तातोपानी नाकामा स्वास्थ्य सुरक्षासम्बन्धी उच्च सतर्कता अपनाउन थालिएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले चीनको तिब्बत हुँदै नेपाल भित्रिने मालवाहक कन्टेनरलाई मितेरी पुलबाटै निर्मलीकरण गरिने जानकारी दिनुभयो । उहाँले खासाबाट भित्रिने कन्टेनरका सामान मितेरी पुलबाटै २४ घण्टाभन्दा बढी समय क्वारेन्टाइनमा राखेर भन्सार कार्यालय ल्याइने गरेको बताउनुभयो ।
खासाबाट मितेरी पुलको बीच भागसम्म चिनियाँ चालक र सहचालकले कन्टेनरमार्फत सामान ल्याइदिने गरेका छन् उक्त सामान लिनका लागि मितेरी पुल बीच भागमा नेपालतर्फका कन्टेनर, चालक, सहचालक र श्रमिक जाने गर्दछन् । उनीहरूमा कोरोना सँक्रमण नभएको पुष्टि भएपछि मात्रै सामान लिन पठाउने गरिएको छ ।
भन्सार प्रमुख गौतमले चालक, सहचालक र मजदुरलाई पीपीई सेट अनिवार्य गरिएको जानकारी दिनुभयो । खासा क्षेत्रबाट दैनिक आठदेखि १० वटा मालवाहक कन्टेनर नेपाल भित्रिँदै आएका छन् । चिनियाँ पक्षले समेत सात दिनसम्म सामान होल्डिङमा राख्ने गरेको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार, रसुवागढी नाका एकतर्फी मात्र सञ्चालनमा रहेको छ । सो नाकाबाट लामो समयदेखि सर्वसाधारणको आवतजावत भएको छैन । चीनबाट सामान लिएर आउने सवारीसाधनलाई निर्मलीकरण गरेर मात्र नेपाल भित्राइने गरिएको छ ।
त्यस्तै श्रमिक र चालकलाई कोरोनाविरुद्धको खोप लगाइने गरिएको छ । उहाँले भन्नुभयो, “बिहान सात र बेलुका दुईवटा गरी दैनिक नौवटा मात्र मालवाहक गाडी नेपाल भित्रिन्छन् ।” चीनबाट सामान मात्र भित्रिने भएकाले स्वास्थ्य जाँच डेस्क स्थापना गरिएको छैन भन्दै प्रजिअ जैसीले आवश्यकताअनुसार हेल्थ डेस्क स्थापना गर्न पत्राचार गरिएको बताउनुभयो ।