सम्पर्क

कालिञ्चोक मन्दिर पुगेका तीर्थालुमाथि हातपात

दोलखाको धार्मिक पर्यटकीय गन्तब्य कालिञ्चोक मन्दिर पुगेका तीर्थालुमाथि हातपात भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थली हुँदै कालिञ्चोक पुगेका करिब ३० तीर्थालुमाथि स्थानीयले हातपात गरेका हुन् ।
आइतबार राती कालिञ्चोकको कुरी बजारबाट तीर्थालु लखेटिएको पीडितहरूले बताएका छन् । सिन्धुपाल्चोकको घोर्थली गाउँ हुँदै कालिञ्चोक जोड्ने सडक निर्माण गरिएको थियो । प्रदेश सरकारको सहयोगमा निर्माण भएको ३० किलोमिटर लामो सडक कालिञ्चोकसँग जोडिएको खुशीमा सिन्धुपाल्चोकबाट तीर्थालुहरु सोही बाटो हुँदै कुरी बजार पुगेका थिए । त्रिपुरासुन्दरी गाउँपालिका–३ का अध्यक्ष एवं गाउँपालिका भौतिक पूर्वाधार अनुमगन समितिको संयोजक शुकदेव रिसालका अनुसार घोर्थलीबाट कुरी बजारछेउसम्म सडक जोड्ने काम भईंरहँदा करिब एक महिनादेखि केही युवाले हातपात गर्दै काममा बाधासमेत पु¥याएका थिए । कुरीका स्थानीयले सिन्धुपाल्चोकबाट सडक जोड्न दिनेबारे विवाद गर्दै आएका थिए । यदि सडक जोडेमा कुरी बजारको तल्लो भेगमा जाड्नुपर्ने उनीहरुको माग थियो । अहिले जोडिएको सडक कालिञ्चोकको केबुलकार पार्किङमा जोडिएको रिसालले जानकारी दिनुभयो । सो विवादबारे आइतबार दिउँसो कुरीका स्थानीय, होटेल व्यवसायीसँग विवाद साम्य गर्न मौखिक सहमतिसमेत भएको थियो । तर, सहमति गरेकै व्यक्तिहरुमध्येले रातको समयमा आएर तीर्थालुसँग झगडा गरेको उहाँले बताउनुभयो । ‘कुरी बजारमा रहेका प्रहरी, पत्रकार र स्थानीयसँग हामीले छलफल गरेर सडक सूचारु गरेका थियौं,’ वडाअध्यक्ष रिसालले भन्नुभयो । आइतबार सो विवादबारे कुरीको अस्थायी प्रहरी चौकीमा छलफल गरिएको हो । ‘बेलुकी मसहित वडाध्यक्ष घोर्थलीका वडाअध्यक्ष फर्कियौं, कुरी बजारमा पुगेको साथीहरु मन्दिर दर्शन गरेर फर्किने भन्दै त्यहीं बसेका थिए,’ उहाँले भन्नुभयो । ‘तर, बेलुकी उनीहरुमाथि हातपात भएको रहेछ ।’ त्रिपुरासुन्दरी गापा घोर्थली गाउँका प्रत्यक्षदर्शी नेत्र सापकोटका अनुरुप कुरी बजारको होटेल हुडमा बसेका स्थानीय बेलुकीको खाना खाइरहेका थिए । त्यसैबेला स्थानीय आएर एक्कासी भित्रै पसेर तथानाम अपशब्द बोल्न थालेका हुन् । ‘तथानाम नबोल्नुस सर’ भन्दा घोर्थलीकै स्थानीय राजेन्द्र खत्री र डिलबहादुर तामाङलाई कठालोमा समातेर मुक्का हानेर घाइते तुल्याएको उहाँले बताउनुभयो । होटेलमा ‘बस्न नदिनू’ भने उर्दी दिएपछि होटेल उडका मालिकले ‘बस्न दिन नमिल्ने, बर्बाद हुन्छ गइदिनुस’ भन्दै क्षमा मागेपछि ३० जना तीर्थालु रातारात घोर्थलीकै सडक भागेर सिन्धुपाल्चोक आइपुगेको उहाँले बताउनुभयो । घाइते खत्री र तामाङको टाउको र च्यापुमा चोट लागेको छ, त्यही क्रममा उहाँको सुनको सिक्रि हराएको छ र कपडासमेत च्यातिएको उहाँको भनाई छ ।
उता अस्थायी प्रहरी चौकी कुरीले भने सिन्धुपाल्चोक पक्षले दिउँसो सहमति गरेभन्दा बढी सडक खनेपछि विवाद आएको जनाएको छ । दिउँसो सहमति हुनेबेलामा सीमा भन्दा केही पर मात्रै खन्ने सहमति भएको थियो । ‘सहमति भएभन्दा बढी लामो सडक खनेको भन्ने युवाहरुको भनाई छ,’ अस्थायी प्रहरी चौकी कुरीका प्रहरी हवल्दार शिवराम खड्काले भन्नुभयो । धेरै सडक खनेपछि जेसिभीबाट एक व्यक्ति झरेको र उहाँ झरेपछि झगडा गर्न आएको भन्ने विषय चर्केको थियो । सो घटनाबारे प्रहरीसामू लिखित कुनै उजुरी नआएको उहाँको भनाई छ । कुटपिट भएका स्थानीय र घटनाबारे सिन्धुपाल्चोक र दोलखाकै स्थानीय प्रहरीलाई सूचना दिइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षबहादुर बस्नेतले यसबारे जनप्रतिनिधिबाट मौखिक जानकारी पाएको र सत्यतथ्य बुझेर अघि बढ्ने बताउनुभयो । ‘यसबारे तथ्य बुझ्नेछौं, यो विषयलाई गम्भीरताकापूर्वक लिएका छौं ।’ उहाँले भन्नुभयो ।