सम्पर्क

अपराध नियन्त्रणमा प्रहरीको सक्रियता

पछिल्लो समय नेपाल प्रहरी अपराध नियन्त्रणमा सक्रियता बढाउन थालेको छ ।
प्रहरीले तनहुँ, ब्यास नगरपालिका–६ किरियापानी बस्ने भगवती श्रेष्ठलाई ३ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उहाँको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले तलासी गर्दा बोरामा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उहाँलाई पक्राउ गरेको हो । कैलाली, बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरबाट करिब १० ग्राम अवैध लागूऔषध चरेश र नगद ३९ हजार ४ सय ३० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र प्याकुरेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश सहित फेला पारी उहाँलाई पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका–१० टिकापुरबाट करिब १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २९ वर्षीय करण राजवंशी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले करणको साथबाट उक्त पदार्थ फेला पारी उहाँहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

त्यसैगरी बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराई बिहीबार साँझ ती महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उहाँलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बाग्मती नगरपालिका–१० नयाँ बस्ती बस्ने ४० वर्षीय काशी मंसुरीको छिमेकीसँगको झगडामा कुटपिट हुँदा सोमबार राति मृत्यु भएको छ । सोही ठाउँ बस्ने ५५ वर्षीय नसरे शेख र काशीबीच वच्चाको विषयलाई लिएर शुक्रबार साँझ झगडा भई कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका काशीको स्थानीय क्लिनिक हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका नसरेको खोजी गर्नुका साथै यस सम्वन्धमा प्रहरीले थप अनसन्धान गरिरहेको छ ।