सम्पर्क

बालबालिकामा ह्याण्ड, फुट एन्ड माउथ डिजिजको जोखिम

‘चिसो मौसममा रुघाखोकी गराउने कोरोना भाइरसले बालबालिकालाई बढी सताउँछ’
अस्पतालका बाल रोग विशेषज्ञ डा. कृष्णप्रसाद विष्टले यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको सङ्ख्या धेरै रहेको जानकारी दिनुभयो । उहाँले भने,‘ह्याण्ड, फुट एन्ड माउथ डिजिज भन्ने बढेको छ ।’
गत वर्षको तुलनामा यो वर्ष अलि बढी देखिएको डा. विष्ट बताउनुहुन्छ । उहाँले भन्नुभयो ,‘धेरै वर्षदेखि देखिएको थियो ।’

सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. रवीन्द्र शर्मा पनि यो सँक्रामक रोग फैलिएको बताउँनुहुन्छ । केही दिन अघिसम्म यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको धेरै नै रहेको डा. शर्माले जानकारी दिनुभयो । तर, केही दिन यता भने त्यस्ता बालबालिकाको सँख्या कम भएको उहाँ बताउनुहुन्छ । डा. शर्माले भन्नुभयो । ‘२÷४ दिन भयो शान्त हुन थालेको छ । नत्र धेरै नै स्कुले बालबालिका आएका थिए ।’

ह्याण्ड, फुट एन्ड माउथ डिजिज सबै मौसममा हुन सक्ने चिकित्सकको मत छ । सामान्यतः गर्मी मौसम सकिएर जाडो सुरु हुने बेलामा यो रोग बढी देखिने छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. प्रकृति ज्ञवाली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘जाडो सुरु हुने बेलामा बढी देखिन्छ ।’ जाडोमा बालबालिका बढी नजिक हुने भएकाले यो मौसममा सर्ने जोखिम धेरै हुने चिकित्सकको मत छ ।

डा. विष्टले यो सरुवा सँक्रामक (भाइरल) रोग भएको बताउनुभयो । उहाँले न्नुभयो , ‘यो भाइरल डिजिज हो। कन्ट्रयाकबाट सर्छ ।’ चिकित्सकको मत अनुसार भाइरस सँक्रमणको कारण ह्याण्ड, फुट एन्ड माउथ डिजिजको सँक्रमण हुन्छ ।

पाँच वर्ष भन्दा कम उमेर समूहका बालबालिकामा यो समस्या बढी देखिने चिकित्सकको मत छ । तर, २३ वर्ष उमेर समूहसम्मका व्यक्तिमा समेत यो रोग देखिएको डा. शर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘२० वर्ष मुनिकालाई यो रोग देखिन्छ । मैले २÷४ जना २२÷२३ वर्षकोमा पनि समस्या देखेको छु ।’

यस्ता देखिन्छन् लक्षण

चिकित्सकका अनुसार ‘ह्याण्ड, फुट एन्ड माउथ डिजिज’भएको अवस्थामा विशेष गरी मुख र हात (हत्केला) मा पानी फोका जस्ता घाउका फोका आउँछन् । ठेउलाका जस्ता फोका मुखभित्र, पैतालामा र हातमा निस्कने डा. शर्मा बताउनुहुन्छ । डा. शर्माका अनुसार कतिपय बालबालिकामा कुइना र घुँडामा पनि यस्तो समस्या देखिन्छ । अभिभावकलाई थाहा नहुँदा ठेउलाको शंंका हुने डा. विष्ट बताउँनुहुन्छ ।

विशेष गरी हात, खुट्टा र मुखमा फोका (घाउ) आउने भएकाले नै यो रोगलाई ‘ह्याण्ड, फुट एन्ड माउथ डिजिज’का नामले चिनिएको चिकित्सकको मत छ ।

कतिपय बालबालिकाको यौनाङ्ग र मलद्वारको वरिपरि तथा हिपमा पनि पानी फोका जस्तो घाउका फोका देखिने चिकित्सक बताउनुहुन्छ ।

यसको लक्षणस्वरुप ज्वरो आउन सक्छ । १÷२ दिन हल्का ज्वरो आउने डा. ज्ञवाली बताउनुहुन्छ । उहानँले भन्नुभयो, ‘कसै कसैलाई १÷२ दिन ज्वरो पनि आउँछ ।’ कतिपयलाई भने ज्वरो नआउन सक्ने चिकित्सक बताउनुहुन्छ ।

बालबालिकाको घाँटी दुख्ने, घाँटी खसखसाउने, खाना खान नमान्ने, बोल्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् । यस्तो समस्या भएका अधिकांश बालबालिकाको मुखभित्र घाउ देखिने, जिब्रोमा घाउ देखिने डा. ज्ञवाली बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘हेर्दा मुखभित्र गालाभित्र, जिब्रोमा, फोका फुटेर अल्सरजस्तो रातोरातो, सेतोसेतो भइसकेको हुन्छ ।’

मुखभित्र मात्रै हैन मुख र नाक वरिपरि समेत फोका देखिने क्रम बढेको डा. शर्मा बताउनुहुन्छ । ‘हामीले हेर्दा यो वर्षदेखि मुख र नाकको वरिपरि फोका आइरहेको छ,’उहाँले भन्नुभयो, अहिले धेरैको मुखभित्र देखिएको छैन,मुखबाहिर देखिएको छ । कोही–कोहीको मुखभित्र र बाहिर दुवै ठाउँमा फोका देखिएको छ ।’

त्यसैगरी खुट्टाको पैतालामा पनि घाउ देखिने चिकित्सक बताउँछन्। यस्तो सँक्रमणमण भएको खण्डमा बालबालिकालाई दुख्ने भएकाले रुने डा. विष्टले बताउनुभयो । कतिपय सँक्रमितलाई चिलाउने र कतिपयलाई नचिलाउने चिकित्सक बताउनुहुन्छ । कसैको हातभरि फोका आउँछ ।

लक्षणअनुसारको उपचार विधि

चिकित्सकका अनुसार यो सँक्रामक (भाइरल) रोग भएकाले यही नै भन्ने विशेष औषधि÷उपचार छैन । लक्षण अनुसार यसको उपचार गरिने डा. विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, बढी चिलायो भने चिलाउन कम गर्ने औषधि दिने हो । ज्वरो आए सिटामोल दिइन्छ । त्यस्तो कडा औषधि त चाहिँदैन ।’ यो संक्रमणविरुद्ध उपचारको लागि विशेष एन्टिभाइरल औषधि नभएको चिकित्सक बताउँनुहुन्छ ।

सामान्यतः केही दिनपछि यो सङ्क्रमण आफैँ ठिक हुन्छ । डा. ज्ञवालीले भन्नुभयो, ‘७÷१० दिनपछि बिस्तारै आफैँ कम हुँदै जान्छ ।’

मुखको घाउका लागि दुखाई कम गर्ने मलम पाइने भएकाले यस्ता मलमको प्रयोग गर्न सकिने चिकित्सकको सुझाव छ । त्यसैगरी दिनमा १÷२ पटक साबुन पानीले धुनुपर्ने हुन्छ ।

घाउ चिलाएको खण्डमा स्टेराईड मलम लगाउन सकिन्छ । तर, मुखमा हात लगाउने साना बालबालिकालाई भने यो मलम लगाउन नहुने चिकित्सक बताउनुहुन्छ ।

यो रोगका कारण जटिलता निम्तने जोखिम कम हुन्छ। तर,जटिलता निम्तिएको खण्डमा मेनेन्जाईटिस तथा नसा सम्बन्धी जटिलता निम्तन सक्ने डा. ज्ञवाली बताउनुहुन्छ । त्यसैले यो रोगको लक्षण देखिए विशेषज्ञ चिकित्सकको सल्लाह तथा परामर्श लिन चिकित्सकको सुझाव छ ।